पूर्णिमाया भन्छिन – ‘मेरो पति मा’र्नेलाई सभामुख पदवी होइन, सजाय देऊ’

प्रकाशित मिति:

काठमाडौं – काभ्रेका अर्जुनबहादुर लामाको हत्या अरोप लागेका पूर्वमाओवादी नेता अग्नी सापकोटालाई नेकपाले सभामुख बनाउने निर्णय गरेलगत्तै लामाकी पत्नीले आपत्ति जनाएकी छिन् । सापकोटा सम्भवत आजै सभामुखमा निर्विरोध निर्वाचित हुँदैछन् । यो खबर आएपछि लामाकी पत्नी पूर्णिमायाले देशमा न्याय हराउँदै गएको बताइन् । उनले आफ्नो पतिको हत्यामा संलग्न रहेका अग्नी सापकोटा सभामुख हुन लागेको कुरा आफूले थाहा पाएको उल्लेख गरिन् । पूर्णिमायाले भनिन्, ‘मान्छे मार्नेहरु नै यो देशमा ठूलो पदमा पुग्दा रहेछन् । जेलमा राख्नुपर्नेलाई किन ठूलो पद दिन लागेको हो मैले बुझिनँ ।’

उनले अग्नी सापकोटालाई पक्राउ गरी अनुसन्धान गरेर न्यायलयमा उभ्याउन सरकारसँग माग गरेकी छिन् । अग्नीसहित ६ जनाविरुद्ध अर्जुनबहादुर लामा हत्या आरोपमा उजुरी दर्ता भएको छ । प्रहरीले भने सापकोटा फरार रहेको भन्दै आलाटाल गर्दै आएको छ । उनी भन्छिन्, ‘सबैले मेरो कुरा उठाई दिए त न्याप पाउँथे होला । नत्र खै अपराधीहरुले शासन चलाएको मुलुकमा के न्याय पाइएला ?’ पूर्णिमायाले अग्नी सापकोटालाई सभामुख होइन, सजाय दिन माग गरेकी छिन् । काभ्रेको दाप्चास्थित श्रीकृष्णमाविका व्यवस्थापन समितिका अध्यक्ष थिए अर्जुनबहादुर लामा । उनलाई माओवादी कार्यकर्ताले ६२ साल वैशाख १६गते अपहरण र त्या गरेका थिए । लामा छाड्न माओवादी कार्यकर्ताले तीन लाख रुपैयाँ फिरौती पनि लिएका थिए ।