चीनका ७० हजार फिल्म हल बन्द

प्रकाशित मिति:

एजेन्सी /उत्तरी छिमेकी चीनमा यतिबेला कोरोना भाइरसले त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ २५ जनाको मृत्यु भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै नेपाल, अमेरिका, अष्ट्रेलियासम्म फैलिएको छ । कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर गएपछि चीनले ७० हजार फिल्म हल बन्द गरेको छ । संसारमा सबैभन्दा धेरै थिएटर भएको देशमध्ये एक हो, चीन । चीनलाई विश्वको दोस्रो ठूलो फिल्म बजार समेत भन्ने गरिन्छ । तर, कोरोना भाइरस नियन्त्रण गर्न चीन सरकारले ७० हजार हल बन्द गरेपछि यसको प्रत्यक्ष प्रभाव विश्व फिल्म बजारमा पर्ने निश्चित छ । चीनका ठूला हलहरु वान्डा, सीजीभी, बोना, ल्यूमियर पेभिलियन, जिनीलगायत अनिश्चितकालका लागि बन्द भएका छन् ।

आइतवारबाट सुरु चीनियाँ नयाँ वर्षमा टिकट बिक्रीबाट १ विलियनभन्दा धेरै राजश्व संकलन हुने अनुमान गरिएको थियो । तर, कोरोना भाइरसको प्रकोप बिग्रिएपछि चिकित्सा विशेषज्ञले भीडभाड भएको स्थानमा एकत्र नहुन चेतावनी दिएपछि फिल्म हलहरु बन्द गरिएका हुन् । चीनको सबैभन्दा ठूलो फिल्म स्टूडियोले आफ्नो सबैभन्दा ठूलो फिल्मको रिलिज समेत स्थगित गरेको छ । तीन दिनदेखि चार दिनभित्र सार्वजनिक स्वास्थ्यको स्थितिमा केही सुधार आएको खण्डमा बन्द भएका फिल्म हलहरु पुनः सुचारु हुनसक्ने बताइएको छ । तर, कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर भएका कारण तत्काल फिल्म हलहरु सञ्चालनमा आउने सम्भावना न्यून छ । चीनियाँ नयाँ वर्षमा अमेरिकी फिल्मको रिलिज समेत रोकिएको छ, जसमा ‘वार्नर ब्रदर्स’ पनि सामेल छ ।