सरकार चिनिको भाउँमा अलमलियो :हृदयेश त्रिपाठी

प्रकाशित मिति:

२२ असोज, काठमाडौं । संसदीय समितिहरुले पूर्णता पाएर आफ्ना काम थालेसँगै सरकार र समितिबीच शक्ति संघर्षका छनक देखिन थालेका छन् । यसैसाता दुईजना मन्त्रीले समितिको छलफल र निर्देशनप्रति आपत्ति जनाएर दिएका प्रतिक्रियाले तरंग सिर्जना गरेको छ ।

चिनीको चलखेल भएको भन्ने लेखा समितिको आरोपमा उद्योगमन्त्री मात्रिका यादवले प्रतिवाद गर्दै चलखेल पुष्टि गर्न चुनौतिमात्र दिएनन्, सभामुखलाई पत्र नै लेखे ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विकास समितिमा दिएको अभिव्यक्ति पनि विवादमा पर्‍यो । मन्त्री बास्कोटाले हस्तक्षेप गरेपछि विकास समितिकी सभापति कल्याणी खड्काले निर्देशन नै परिवर्तन गरिन् ।

यी प्रतिनिधि घटना मात्र हुन् । अचेल संसदीय समितिको सक्रियता बढेसँगै एउटै मन्त्रालयका काममा विभिन्न समितिले फरक-फरक निर्देशन दिँदा कुन निर्देशन मान्ने भन्ने अन्योल बढेको गुनासो मन्त्रालयहरुले गरेका छन् । समितिले काम देखाउन मन्त्री र सचिवहरुलाई बोलाउँदा डुप्लिकेशन भएको र मन्त्रालयका काम छाडेर समितिमा दौडिनुपरेको गुनासो पनि सरकारी अधिकारीहरुले गरेका छन् ।

उता, प्रतिनिधिसभा र संसदीय समितिमा ०४८ देखि नै खरो प्रस्तुतिका कारण चर्चामा रहेका सांसद हृदयेश त्रिपाठीको भने यो प्रकरणमा अलि फरक धारणा छ । ०५१ सालमा लेखा समितिको सभापति भएका त्रिपाठी संसदमा सफल सभापतिको पहिचान बनाएका सांसद हुन् । उनी त्रिपाठी ०७० का दोस्रो संविधानसभा बाहेक सबै संसदमा निरन्तर छन् ।

राजनीतिको शुरुवात कम्युनिस्ट बिचारबाटै गरेका त्रिपाठीको पहिचान भने मधेसवादी नेताका रुपमा स्थापित छ । ०४८ देखि ०७४ सालसम्म मधेसवादी दलमा रहेका त्रिपाठी अहिले भने बैधानिक रुपमा सत्तारुढ नेकपा र राजनीतिकरुपमा स्वतन्त्र सांसद हुन् । तत्कालीन एमालेको चुनाव चिन्ह सूर्यबाट जितेका त्रिपाठीको भूमिका अहिले पनि संसदमा आलोचनात्मक र परिपक्व हुने गरेको छ ।