एनआरएन अमेरिकाका प्रवक्तासहित २ निलम्बित

१४ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ल निलम्बनमा परेका छन् । नक्कली फेसबुक पेजमार्फत गैरआवासीय नेपाली संघका विभिन्न व्यक्तिविरुद्ध निरन्तर चरित्र हत्या गरेको पुष्टि भएपछि एनआरएन अमेरिकाको आकस्मिक बैठकले उनीहरूलाई कारबाही गरेको हो ।भट्टराई र मल्लले पदीय आचरणविपरीत कार्य गरेको भनी एनआरएनका आजीवन सदस्य प्रसन्न संग्रौलाले उजुरी गरेपछि सो उजुरीको प्रारम्भिक छानबिनका क्रममा दुवै जनाले नक्कली फेसबुक पेज खोलेर चरित्र हत्या गरेको पाइएको छ । यसबारेमा ४५ दिनभित्र विस्तृत छानबिन गर्न वरिष्ठ उपाध्यक्ष डा.अर्जुन बन्जाडेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।छानबिन समितिमा २ जना पछि थप गर्ने गरी कानुनी सल्लाहकार धन बस्नेत, सल्लाहकार सञ्जय थापा राख्ने निर्णय भएको महासचिव पशुपति पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।

अमेरिकामा आईटी विज्ञका रूपमा कार्यरत प्रसन्न संग्रौलाले भट्टराई र मल्लले छद्म नामबाट चलाएको ‘सीधा कुरा’ नामको फेसबुक पेज ह्याक गरेर सबै डाटा तथा प्रमाण पेस गरेपछि अमेरिकामा बस्ने नेपालीहरूबीच खैलाबैला मच्चिएको छ । सो पेजबाट विभिन्न व्यक्तिलाई गु्रप मेसेजमा जोडेर चरित्रहत्या तथा धम्की दिइएको पाइएको छ ।उनीहरूले आफ्ना विरोधी गैरआवासीय नेपालीहरूको चरित्रहत्या गर्न सो फेसबुक पेज दुरुपयोग गरेको पाइएको एनआरएन अमेरिकाले जनाएको छ । एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष केशव पौडेलनिकट ओम र शिवले एनआरएन महाधिवेशनका बेला हालका अध्यक्ष कुमार पन्तविरुद्ध सो पेजबाट निरन्तर विभिन्न आरोप लगाएका थिए ।संग्रौलाले गत बुधवार फेसबुक लाइभमा आएर आफूले सीधा कुरा नामको नक्कली फेसबुक प्रोफाइल पेज ह्याक गरेको स्वीकार गर्दै उक्त पेज शिव मल्ल र ओम भट्टराईले चलाएको डिजिटल फुटप्रिन्ट समेत पत्ता लगाउन सफल भएको खुलासा गरेका थिए । ४९ मिनेट लामो लाइभ भिडियोमा उनले कसरी ह्याक गरियो र सो पेजबाट के–कस्ता सामग्री प्रवाह भए भन्नेसमेत देखाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया