सेनाले टुहुरालाई निःशुल्क पढाउने

प्रकाशित मिति:

दाङ – नेपाली सेनाले हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरूलाई कक्षा १ देखि कक्षा १२ सम्म निः शुल्क अध्ययन गराउने भएको छ ।दाङको घोराही तथा सुर्खेतमा आयोजित सम्मेलनमा प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरूमा हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरूलाई कक्षा १ देखि १२ सम्म निःशुल्क अध्ययन गराउने कार्यक्रम अघि बढेको बताए । शिक्षाको पहुँचबाट कोही वञ्चित नहोस् भनेर आगामी शैक्षिक सत्रबाटै लागु हुने गरी हिताधिकारीमध्ये श्रीमान्–श्रीमति दुवैको मृत्यु भई टुहुरा भएका बालबालिकाहरूका लगि यस्तो अवसर दिइने बताए ।

प्रधानसेनापति थापाले स्वरोजगार कार्यक्रमअन्तर्गत सैनिक श्रीमति संघको पहलमा व्यावसायिक तालिम केन्द्र छाउनीबाट सुरु भएको सीपमूलक कार्यक्रम प्रितना तहसम्म यहि वर्षबाट विस्तार गरिएको बताए । सेनाले सैनिक दिवसका अवसरमा काठमाडौं उपत्यकाबाट सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ । बजारमूल्य भन्दा १० देखि १९ प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने योजना सेनाको छ ।

सेनाले उद्यमशीलता कर्जा कार्यक्रम पनि सुरु गरेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गरी सेनाले बढीमा १५ लाख रुपैयाँसम्म कर्जा लिन मिल्ने व्यवस्था मिलाएको हो । भूतपूर्व सैनिक श्रीमति, एकल महिला तथा अविवाहित छोरीलाई बढीमा ५ वर्षका लागि ३ दशमलव ९८ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ ।

भूपू सैनिक नन्दबहादुर चन्दले सम्मेलनलाई पुराना सहपाटीसँगको भेटघाट गर्ने थलोका रुपमा लिएको बताए । सैनिक कार्यकारी बोर्डले भूपूहरूलाई सहयोग गरेको र सम्मेलनबाट लघुवित्तदेखि औषधि उपचारसम्मको सहयोग प्राप्त भएको उनले बताए ।

प्रधान सेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन दाङको घोराहीबाट सुरु भएको हो । सम्मेलनका क्रममा स्वास्थ्य उपचार सेवा, सहभागीलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका ऋणिहरूलाई चेक हस्तान्तरण, उत्कृष्ट व्यवसायीलाई पुरस्कार तथा ज्येष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गरिएको छ ।