कक्षा ११ र १२ मा अब फ्याकल्टी नरहने: यस्तो छ १ देखि १२ सम्मको नयाँ पाठ्यक्रम

प्रकाशित मिति:

सरकारले आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा विषयपिच्छेको संकाय नबनाउने भएको छ । कक्षा १२ सम्म विद्यालय शिक्षामा रुपान्तरण भएसँगै विभिन्न संकायको रुपमा अध्ययन अध्यापन गराउने पद्धति हटाएर अब कक्षा ९ र १० कै जस्तो पाठ्यक्रम लागू हुने भएको छ ।

शिशु कक्षा देखि १२ सम्म विद्यालय संरचनामा रुपान्तरण भएसंगै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन शिक्षा, मानविकी लगायत समूहका अलगअलग पाठ्यक्रम नहुने भएको छ । विद्यालय तहमा जसरी पढाइ हुन्छ, कक्षा १२ सम्म पनि सोही अनुसार एकल पथीय (सिंगल ट्रयाक) का रुपमा जाने भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद् ऐन बनेपछि वर्ष २०४९ बाट कक्षा ११ र १२ अलग शैक्षिक संरचना बनेको थियो । त्यही बेलादेखि विश्वविद्यालयमा जस्तै विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा समूहको अलगै संकाय प्रणाली चलेको थियो । दुर्इ हजार ६३ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह हटाएपछि कक्षा ११ र १२ को संरचना झन बलियो बन्यो । तर यो तह २५ वर्षमै परिवर्तन भइ विद्यालय शिक्षामा गाभियो र कक्षा ९ र १० मा जस्तै पठन प्रणाली सुरू हुने भएको छ ।

अब अनिवार्य अँग्रेजी र नेपालीबाहेक बाँकी सबै विषय एच्छिक हुनेछन् । उच्चशिक्षा अध्ययन र विश्वविद्यालय प्रवेशका लागि आधार तयार गर्ने चरण पनि हो, कक्षा ११ र १२ । यही चरणमा उपयुक्त विषय छानी विद्यार्थीले उच्च तहमा पढ्न चाहेको विषय वा संकायका लागि तयारी गर्नुपर्नेछ ।

शिक्षामन्त्रीद्वारा १ देखि १२ सम्मको नयाँ पाठ्यक्रम स्वीकृत: यस्तो छ अबको पाठ्यक्रम

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले उक्त प्रारुप पारित गरेसँगै कक्षा ११ र १२ पनि कक्षा एक देखि १० सम्मको जस्तै एकल पथीय हुने भएको छ । अब कक्षा ११ र १२ मा नेपाली, अँग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा गरी ४ विषय अनिवार्य र ३ विषय ऐच्छिक रहने छन् । कक्षा ९ र १० मा ५ वटा अनिबार्य र २ वटा ऐच्छिक विषय रहने व्यवस्था गरिएको छ । २ वटा ऐच्छिक विषय मध्ये एउटा विषय पेशा व्यवसायिक विषय हुने छ ।

पाठ्यक्रम प्रारुप अनुसार अब कक्षा ११ र १२ मा ऐच्छिक विषयहको छनोट गर्दा चार ऐच्छिक विषयहरू मध्ये कुनै तिन विषयको छनोट विद्यार्थीको रूचि, आवश्यकता, उपलब्ध शिक्षक तथा स्रोत र साधनको आधारमा स्थानीय तहको समन्वयमा विद्यालयले गर्ने ब्यवस्था गरिएको छ । यसरी विषय छनोट गर्दा ऐच्छिक प्रथम, द्वितीय र तृतीयबाट एक एक विषय गरी जम्मा ३ विषय छनोट गर्नु पर्ने छ । दिइएका एक समूहबाट कुनै एक मात्र विषय छनोट गर्नु पर्ने छ । ऐच्छिक प्रथम विषय जुन समूहबाट छानिएको छ ऐच्छिक द्वितीय र तृतीय विषय पनि सोही समूहबाट छनोट गर्नु पर्ने छ ।

चार ऐच्छिक विषय मध्ये एक विषय (ऐच्छिक चतुर्थ) स्थानीय विषय हुने छ । यो विषय मूलत रोजगारमुलक तथा स्वरोजगारमुलक सीप आर्जनको लागि प्राविधिक तथा व्यवसायिक प्रकृतिको हुने छ । यो विषय स्थानीय आवश्यकताको आधारमा सम्बन्धित स्थानीय तहले आफै पाठ्यक्रम विकास गरी कार्यान्वयन गर्न सक्ने छ । तर पाठ्यक्रम संरचनामा दिइएका ऐच्छिक स्थानीय विषयले स्थानीय आवश्यकताको प्रतिनिधित्व गर्ने भएमा सो विषय छनोेट गरी अध्ययन अध्यापन गराउन सकिने छ । यो विषयको शिक्षक, पाठ्यसामग्री लगायतका व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने ब्यवस्था गरिएको छ ।

पूर्ण पाठ पढ्नुहोस : विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६