महिलालाई हुने ‘स्तन क्यान्सर’ रोगबाट पुरुष पनि पीडित !

प्रकाशित मिति:

BRCA1 / BRCA2 जिनहरु नै महिलाहरुमा हुने स्तन क्यान्सरसँग सबैभन्दा धेरै सम्बन्धित रहेको बताइए पनि वास्तवमा पुरुषहरु समेत यसको उच्च जोखिममा रहने गरेको पाइएको छ ।

६६ वर्षीय पिट पसानिसीलाई हरेकपटक गाडिको सिटबेल्ट लगाउँदा छातिको देब्रेतर्फ असहज महसुस हुने गर्दथ्यो । यसलाई उनले सामान रुपमा छाला तानिएको वा कहिलेकाहिँ सबैलाई जस्तो छाति पोलेको हुन सक्ने सोचेका थिए । तर परिवारले एकपटक स्वास्थ्य परीक्षण गराउन जोड दिएपछि भने उनी आफैँले त्यहाँ सानासाना ढुङ्गा जस्ता गाँठा फेला पारे ।

यसपछि ६६ वर्षीय पिट, बायोप्सीका लागि एउटा स्थानीय अस्पतालमा उपचार गराए , जहाँ उनलाई ती गाँठा वास्तवमा स्तन क्यान्सर भएको थाहा भयो । उनको क्यान्सर त्यतिबेला दोस्रो चरणमा पुगेको रहेछ ।

उनकी छोरी एनी भन्छिन, ‘त्यो सिट बेल्टले नै उनको जीवन बचायो ।’ यसरी २७ वर्षीया एनीले बुवाको शल्यक्रियाको केही महिनापछि मात्र आफूमा पनि त्यही समस्याजनक जिन रहेको थाहा पाइन् । उक्त जिनले उनमा स्तन वा पाठेघरको क्यान्सर हुने जोखिम बढाउँछ । यसकारण एनी प्रत्येक ६ महिनामा क्यान्सर परीक्षण गराउन जाने गरेकी छन् ।

BRCA1 / BRCA2 नामक जिनहरुले ट्युमरलाई दबाउने काम गर्छन् र डिएनएमा प्राकृतिक रुपमा देखिन सक्ने समस्याको मर्मत गर्ने गर्दछन् । तर यिनै जिनहरुले राम्ररी काम गर्न नसक्दा चाहिँ अन्य वंशाणुगत कमजोरीहरु उत्पन्न हुन्छन् जसले नै क्यान्सर निम्त्याउँछ । महिला र पुरुष दुवैमा यो जिनमा समस्या आउने समान स्तरको जोखिम हुन्छ । तर पुरुषहरुले यसको शंकामा परीक्षण गराउने जाने सम्भावना भने १० गुणा कम रहेको छ किनकी स्तन क्यान्सरलाई परम्परागत रुपमै ‘महिलाको रोग’ मानिँदै आएको छ ।

यस्तोमा पुरुषहरुले आफ्नो शरीरमा ब्रेस्ट टिस्यु हुँदैन भन्ने विश्वास गर्ने हुनाले पनि उनीहरुले स्तन क्यान्सरलाई गम्भीरतापूर्वक लिइरहेका हुँदैनन् । अवस्यपनि पुरुषहरुमा महिलाको तुलनामा थोरै ब्रेस्ट टिस्यु हुन्छ जसले उनीहरुमा ब्रेस्ट क्यान्सरको जोखिम कम गराउँछ । तर महिला जसरी नै BRCA1 / BRCA2 मा समस्या भएका पुरुषहरुले आफ्ना सन्तानमा यो समस्या सार्ने ५० प्रतिशत सम्भावना हुन्छ । विशेषगरी छोरीमा त्यो जिन आयो भने उनीहरुलाई ७० वर्षको उमेरसम्म स्तन क्यान्सर हुने सम्भावना ५० देखि ८५ प्रतिशतले वृद्धि हुन्छ ।

यसबारेमा टेक्सस स्थित स्तन क्यान्सरकी विज्ञ जुलि रानी भन्छिन, ‘यदि पुरुषहरुले पनि महिला जसरी परीक्षण गराइरहने हो भने आफ्ना परिवारका महिलाहरुलाई क्यान्सरबाट जोगिन मद्दत गर्न सक्थ्ये ।’ यसरी पुरुषहरुले नियमित परीक्षण गराइ आफ्नो जिनबारे पहिचान गराएमा उनीहरुमा हुन सक्ने क्यान्सरका लक्षण पनि सुरुवाती चरणमै पत्ता लाग्न सक्छन् भने एनी जस्तैगरी आफ्ना छोरी, नातिनीहरुलाई पनि बेलैमा सचेत गराउन सकिनेछ ।

त्यसैगरी BRCA2 जिनमा खराबी भएका पुरुषहरुमा विशेष रुपमा प्रोस्टेट क्यान्सर हुने जोखिम पनि दुई गुणा बढी हुने अनुसन्धानले देखाएको छ । यसमा प्रोस्टेट क्यान्सर भएका १२ प्रतिशत पुरुषमा उक्त जिन समस्या देखा पर्ने गरेको पाइएको छ । तर खराब BRCA2 जिन हुने ३९ प्रतिशत पुरुषमा प्रोस्टेट क्यान्सर विकसित भएपनि उनीहरु उपचारपछि पाँच वर्ष बढी बाँच्न सक्छन् । यसैकारण पुरुषहरुले परम्परागत भनाइहरुको पछि नलागि बेलैमा जाँच गराएर आफ्नो र परिवारका अन्य सदस्यको पनि जीवन बचाउन सुझाव दिइएको छ ।