‘वर्षभरि परीक्षा लिने ? विश्वविद्यालयको काम काउन्सिलले गर्नु हुँदैन’ – सञ्चारमन्त्री बाँस्कोटा

प्रकाशित मिति:

काठमाडौं – नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मिडिया काउन्सिलबाट पत्रकारहरुको परीक्षा लिन नहुने बताएका छन् । पत्रकारहरुको परीक्षा लिने कानून बनाइयो भने त्यसको कार्यान्वयन गर्न गाह्रो हुने भएकाले मिडिया काउन्सिल विधेयकमा त्यस्तो परीक्षाको प्रावधान राख्न नहुने मन्त्री बाँस्कोटाको धारणा छ । मन्त्री बास्कोटाले भने, ‘मिडिया काउन्सिलले कुन-कुन दिन चलाउँछ त परीक्षा ? एउटा त एकघण्टे डिपार्टमेन्ट नै राखिराख्नुपर्ने भो ! यो देशले पनि थेग्न सक्दैन । यो झण्झटिलो हुन्छ । यो आवश्यकै छैन

सोमबार राष्ट्रिय सभाको विधायन समितिमा भएको छलफलमा मन्त्री बाँस्कोटाले परीक्षासम्बन्धी प्रावधान हटाउन माग गरेका थिए । तर, मन्त्री बाँस्कोटाको माग विपरीत समितिले पत्रकारको परीक्षा र लाइसेन्स सम्बन्धी प्रावधान राखेर प्रस्ताव पारित गरेको छ ।

पूर्वपत्रकारसमेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘हिजो मैले समितिको छलफलमा भनेको थिएँ, पत्रकारलाई लाइसेन्ससम्म जारी गर्नु राम्रै हो, तर परीक्षा केको सञ्चालन गर्छ ? फोटोग्राफीको कि ? कार्टुनिस्टको कि ? केको परीक्षा गर्ने ? मिडिया काउन्सिल भनेको युनिभर्सिटी त होइन ।’ हरेक दिन विभिन्न मिडियामा पत्रकारहरुको नियुक्ति भइरहने बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘मिडिया काउन्सिलले कुन-कुन दिन चलाउँछ त परीक्षा ? एउटा त एकघण्टे डिपार्टमेन्ट नै राखिराख्नुपर्ने भो ! यो देशले पनि थेग्न सक्दैन । यो झण्झटिलो हुन्छ । यो आवश्यकै छैन ।’

सोमबार संसदीय समितिमा भएको छलफलमा पनि सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारलाई परीक्षाको व्यवस्था गर्न नहुने अडान राखेका थिए । तर, नेकपाकै सांसद ठगेन्द्रप्रकाश पुरीको जोडबलपछि समितिले पत्रकारलाई परीक्षा लिने प्रावधान पारित गरी छाड्यो । तर, पत्रकारलाई परीक्षा लिँदा पाठ्यक्रम बनाउनुपर्ने, फोटो पत्रकारिता, प्रशारण पत्रकारिता, अनलाइन पत्रकारिता आदिका लागि छुट्टाछुट्टै पाठ्यक्रम बनाउनुपर्ने लगायतका समस्या आउने भन्दै मन्त्री बाँस्कोटाले समितिको बैठकमै प्रतिवाद गरेका थिए । बैठकमा मन्त्री बास्कोटाको प्रश्न थियो, ‘अब मिडिया काउन्सिलले वर्षभरि पत्रकारको परीक्षा लिने हो कि ? एउटा पत्रकारले मेरो परीक्षा लिनु भनेपछि लिने हो कि ?’