टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि उनकी प्रेमिकाले गरिन आत्महत्या

१५ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – सुर्खेतमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि उनकी प्रेमिकाले आत्महत्या गरेकी छिन् । हिजो बिहान वीरेन्द्रनगर–४ चोकमा भे १ ख २२४२ नम्बरको टिप्परले विपरीत दिशाबाट आएको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा केशरबहादुर सिंहको घटनास्थलमा मृत्यु भएको थियो ।घटनाबाट विक्षिप्त भएकी उनकी प्रेमिकाले आत्महत्या गरेकी हुन् । उनी सुर्खेतस्थित मामाघरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । केशरको मृत्यु भएपछि निकै विक्षिप्त भएकी कालिकोटकी अरुणा शाहीले सिंहको मृत्युको पीडा खप्न नसकेर झुण्डिएर आत्महत्या गरेकी हुन् ।करिब एक साताको बिचमा टिप्परको ठक्करबाट चुडिएको यो दोस्रो प्रेम हो । अर्थात् एक साताअघि विवाहको कार्ड बाँड्न हिँडेकी एक युवतीको टिप्परको ठक्करबाट मृत्यु भएको थियो । विवाहका लागि तयारी गरिरहेका उनका प्रेमी विक्षिप्त अवस्थामा गुज्रिरहेका छन् ।दिनभर तनावग्रस्त,२ राउन्ड हवाइ फायर –कालिकोट महावै गाउँपालिका ३ का केशर सिंहको टिप्परले ठक्कर दिएर मृत्यु भएपछि सो क्षेत्र हिजो दिनभर तनावग्रस्त भएको थियो । सिंहको निधन भएलगत्तै स्थानीयवासी र आफन्तले नाराबाजी गरेका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको थियो ।प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ८ जना भन्दा बढी स्थानीय घाइते भएका छन् । प्राप्त जानकारी अनुसार जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका हुन् ।उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका आफन्तले यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।टिप्परले ठक्कर दिएर दिनहुँजसो मानिसले ज्यान गुमाउनुपरेको घटना देखेका स्थानीय रोकिएनन् । उनीहरुले चर्को नाराबाजी गरे । स्थानीयवासी र मृतकका आफन्तले सडक अवरोध गर्दै चर्को विरोधसहित नाराबाजी गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गर्नुपरेको थियो । प्रशासनले वीरेन्द्रनगर क्षेत्रमा तनावग्रस्त स्थिति नियन्त्रण गर्न भन्दै मंगलबार साँझदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यू जारी गरेको थियो ।कफ्र्यु अहिले हटिसकेको छ । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ । मृतक परिवारलाई शव बुझाउन छलफल भइरहेको प्रहरीले जनाएको छ ।चालकको लापरबाहिका कारण एक युवकले अनाहकमा ज्यान गुमाए । आफ्नो जीवनसाथीको रुपमा कल्पना गरेकी प्रेमीलाई त्यसरी अकल्पनिय ढंगले क्षतविक्षत अवस्थामा देख्दा उनले सहन नसकेर आत्महत्या गरीन् ।पछिल्लो समय टिप्परको ठक्करबाट दिनहुँजसो मानिसहरुले ज्यान गुमाउनुपरेको छ । कतिपय अवस्थामा टिप्परले ठक्कर दिएर भागेको घटना समेत छ । यसैबिच माघ १४ गते काठमाडौंको शान्तिनगरमा टिप्परको ठक्करबाट एक महिला घाइते भएकी थिईन् ।शान्तिनगर सडकमा जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी महिलालाई टिप्परले ठक्कर दिएको थियो । घाइते महिलाको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।टिप्पर दुर्घटनाका प्रमुख कारण के हो ?  –  बढ्दो टिप्परको चाप र तिव्र गतिका कारण पछिल्लो समय टिप्परको ठक्करबाट भएका दुर्घटनाको संख्या बढ्दै गएको छ ।अव्यवस्थित तथा साँघुरो बाटो, तिव्र गति र कम उमेरका चालक, बढ्दो सवारी चापका कारण टिप्पर दुर्घटना बढीरहेको छ ।

टिप्परः शहरमा गुडाउन बनेकै हैन – शहरी क्षेत्रमा हुने गरेका टिप्पर दुर्घटना तिव्र गति र माथि प्रस्तुत गरिएका कारणबाट नै हुने गरेका छन् । ‘अफरोड’ का लागि बनाइएको टिप्पर चलाउने अधिकांश कम उमेरका छन् । हेभी गाडी’ भए पनि शक्तिशाली हाइड्रोलिक इन्जिन, तुरुन्तै गति लिनसक्ने क्षमता आदिका कारण टिप्परमा युवाहरूको आकर्षण छ ।तिनमा भएको जोशले शहरी परिवेशमा कसरी सवारी हाँक्ने भन्ने चेत हराईदिन्छ र दिनहुँ दुर्घटनाको समाचार आईरहन्छन् । त्यतिमात्रै होईन नियमित सवारी चेकजाँच नहुनु, मोबाइल फोनको प्रयोग गरिनु पनिकेहि समय अघि अत्याधिक दुर्घटना हुन थालेपछि विहान र दिउँसो शहरमा टिप्पर नगुडाउन भनिएको छ । टिप्परका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले गत २७ असारमा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा दिउँसो टिप्पर चलाउन प्रतिबन्ध लगाएको छ ।गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार उपत्यकामा राति ८ बजेपछि मात्रै टिप्पर चल्न पाउने भनिएको छ ।भूकम्पपछिको पूनर्निमाणको लागि गिटि बालुवा, ढुंगा ओसारपसार गर्नको लागि अत्याधिक मात्रामा टिप्परको प्रयोग भइरहेको छ । बिहानको समय तोकिएको छैन । तर रातको समयमा उनीहरुको गतिले अन्य सवारी चालक आत्तिन्छन् । विभिन्न मुलुकमा सडक अनुसार कुन गतिमा सवारी हाँक्ने भन्ने मापदण्ड तोकिएको हुन्छ । तर हाम्रोमा त्यसो नहुँदा टिप्परले हेपेर लेन मिचेर हाँकिरहेका छन् । हाम्रा गाउँ–शहरमा ६७०० सीसी इन्जिन र ३१ टनसम्म भारवहन क्षमता भएका टिप्पर गुडिरहेका छन् ।एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) नभएका, ठूलो पांग्रा भएका, ६ सिलिण्डर सहित हाइड्रोलिक इन्जिनयुक्त यस्ता टिप्परहरू शहरी बाटोमा गुडाउन प्राविधिक रूपले उपयुक्त नहुने विज्ञहरु बताउँछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया