उखु उत्पादकको भुक्तानीको लागि सरकारको निर्देशन , अब चिनीको खुद्रा मुल्य ७०

प्रकाशित मिति:

काठमाडौं । सरकारले उखु उत्पादक किसानले पाउनुपर्ने रकम ५ दिनभित्र भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिएको छ । चाडबाड आइसक्दासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले यस्तो निर्देशन दिएको हो ।

अर्थमन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति मन्त्री, वन तथा वातावरण, सामान्य प्रशासन मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुको सोमबार सिंहदरबारमा भएको बैठकले यस्तो निर्देशन दिएको हो । सरकारले पाँच दिनभित्र भुक्तानी नदिने उद्योगीहरुलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

चिनी मिलले भुक्तानी नदिएपछि आइतबार पत्रकार सम्मेलन गरी नेपाल उखु उत्पादक किसान संघ, नेपाल उखु उत्पादक महासंघ, किसान हकहित समितिलगायतले संयुक्त रुपमा सडक आन्दोलन गर्ने चेतावनी दिएपछि सरकारले कदम चालेको हो । उद्योगले किसानलाई अपूरो पैसा भुक्तानी गरेको र सरकारले अनुदानको रकम भुक्तानीमा आनाकानी गरिरहेको उनीहरुको आरोप थियो ।

कृषि मन्त्रालयको सिफारिसमा गत वैशाख ५ गते बसेको मन्त्रीपरिषद् बैठकले उखु किसानलाई उद्योगले ४ सय ७१ रुपैयाँ २८ पैसा र नेपाल सरकारले अनुदानबापत ६५ रुपैयाँ २८ पैसा गरी प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा दिने निर्णय भएको थियो ।

निर्णय भएको ६ महिनासम्म पनि आफूहरुले भुक्तानी नपाएको भन्दै आन्दोलनको बाटो तताउनुपरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । हालसम्म उद्योगीले २ अर्ब र नेपाल सरकारले अनुदानबापतको १ अर्ब २८ करोड रकम उखु किसानलाई भुक्तानी गर्न बाँकी रहेको महासंघको दाबी छ ।

उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखी रणनीति तयार गर्नका लागि आइतबारको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल पनि गठन गरेको थियो ।

यसैबीच सरकारले निर्धारण गरेभन्दा बढी मूल्यमा चिनी बेच्ने व्यापारीलाई कडा कारबाही गर्ने जनाएको छ । सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ । चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।