७५ वर्षीय चन्द्रवीर जो एक्लैले पहाड फोडेर गाउँमा बाटो पुर्‍याए

प्रकाशित मिति:

उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उहाँको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गर्नुभएको छ ।तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो– तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पुर्‍याउने । चार वर्षदेखिको उहाँको सपना एक्लै पूरा गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–३ खमारीका वलीले एक्लैले खनेर गाउँसम्म सडक पुर्‍याउनुभएकाे हाे ।

गाउँको नजिकै राजमार्ग छ तर गाउँसम्म पुग्ने गोरेटोबाटो समेत थिएन । हिँड्दा भीरबाट लडेर धेरैका हातखुट्टा भाँचिएका छन् । स्वयम् उहाँको परिवारका १३ जना सदस्यमध्ये नौजना दृष्टिविहीन हुनुहुन्छ ।

वलीले २०७१ सालदेखि घरसम्म पुग्ने बाटो पुर्‍याउने सपना देख्नुभयो । गाउँघरका कतिपय बुज्रुक व्यक्तिले समेत हुनै नसक्ने काम गर्न थाल्यो भन्दै खिसिट्युरी गर्न थाले । तर उहाँ एक्लैले आँट गरेर बाटो खन्न थाल्नुभयो । बिहान ४ बजे उठेर बाटो खन्न जानुहुन्थ्यो र आँखा देखुन्जेल खन्नुहुन्थ्यो ।

राजमार्गदेखि सडक गाउँसम्म त पुग्यो नै तर वलीलाई त्यो सडक घरसम्मै पुर्‍याउनु थियाे । वली भन्नुहुन्छ, “बिरामी पर्दा खटियामा बोकेर बिरामीलाई गाडी चढ्ने ठाउँसम्म पु¥याउने बाटो पनि थिएन । तर गत वर्ष मेरै घरकी बुहारी बिरामी पर्दा घरसम्मै एम्बुलेन्स आयो ।”

अहिले गाउँमा जोकोही बिरामी पर्दा एम्बुलेन्स गाउँमै पुग्छ, दिनहुँ अटो, मोटरसाइकल गुड्ने गर्छन् । यस्तो देख्दा आफूलाई निकै खुसी लाग्ने गरेको उहाँको भनाइ छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।