बाल यौन शोषण : ३९ औं स्थानमा नेपाल

प्रकाशित मिति:

काठमाडौँ – बाल यौन शोषण र दुव्र्यवहारलाई लिएर ‘आउट अफ द श्याडो’ प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनअनुसार ४६.४ अङ्क प्राप्त गर्दै नेपाल ६० देशमध्ये ३९ स्थानमा रहेको छ । दक्षिण एशिया क्षेत्रमा बङ्गलादेश (३५.३) र पाकिस्तान (२८.६) भन्दा माथि तर भारत (५८.२) र श्रीलङ्का (५१.५) रहेका छन् ।

बालबालिकाको यौन शोषण अन्त्य गर्ने प्रतिबद्धताका साथ विश्वका ९७ देशमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिपिएटी, बालअधिकारका लागि नेपालमा पैरवी गर्दै आएको संस्था सिविन, महिला बेचबिखन रोकथाममा क्रियाशील संस्था माइती नेपाल र शक्ति समूहले आज ललितपुरमा उक्त प्रतिवेदनमा छलफल गरी नेपाल सरकारले बालबालिकालाई यौन शोषणबाट मुक्त गर्न आवश्यक ऐनकानुन अविलम्ब ल्याउनुपर्नेमा जोड दिएका छन् ।

बाल यौन शोषण र दुव्र्यवहारसम्बन्धी राष्ट्रिय नीतिगत खाका बन्नुपर्ने, अपराध नियन्त्रण प्रयासमा अवरोध गर्नेलाई कडा कानूनी कारवाही हुनुपर्ने आवश्यकता औँल्याउँदै बालबालिका ओसारपसार र अनलाइन दुव्र्यवहार तथा शोषणको अन्त्यका लागि राष्ट्रिय नीति तर्जुमा र त्यसको कार्यान्वयन अपरिहार्य भएको उनीहरुले बताए ।

राष्ट्रहरुले बाल यौन शोषण र दुव्र्यवहार कसरी सम्बोधन गरिरहेको छ भन्ने कुरा आर्थिक बुद्धिमत्ता इकाइले तयार पारेको आउट अफ द श्याडो सूचकाङ्कले मापन गर्दछ । प्रतिवेदनले सरकार, निजी क्षेत्र र नागरिक समाजले बालबालिकालाई यौन हिंसाबाट सुरक्षित राख्न र संयुक्त राष्ट्र सङ्घीय र दिगो विकास लक्ष्य १६.२ का हकमा आफ्ना प्रतिबद्धता पूरा गर्न अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औँल्याएको छ । – रासस