श्रीपञ्चमी : भैरहवा आसमासमा पूजा {फोटोफिचर}

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ ।

आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । यसै यामदेखि वन ढकमक्क हुन्छ । प्राकृतिक रुपमै रमाइलो वातावरणको अनुभव हुन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । ‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

त्यसै अवसरमा भैरहवा आसमासमा जापानिज भाषा प्रशिक्षण केन्द्र भैरहवा, मुनलाइट माध्यमिक विद्यालय, भैरहवा बहुमुखी क्याम्पस, रुपन्देही क्याम्पस, काशी नोबेल एकेडमी लगायतका ठाउँमा सरस्वती पुजा गरि मनाइएको छ ।

तस्बिर : पुनहरी बेलवासे/सबलपोस्ट

(फोटो फिचर)