भारतका वामपन्थी नेता कन्हैया कुमार पक्राउ

प्रकाशित मिति:

भारत – भारतका वामपन्थी नेता तथा जेएनयुका पूर्वअध्यक्ष कन्हैया कुमारलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार पक्राउ गरी कन्हैयालाई प्रहरीले चम्परणस्थित हिरासतमा राखेको छ। आफ्ना समर्थकहरूका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको हो। उनले यसअघि भारतको नागरिकता संशोधन कानुनको विरोध गर्दैआएका थिए।

जेएनयुमा छँदा उनीमाथि देशद्रोहको मुद्दासमेत लगाइएको थियो। हिरासतमा लगिएपछि कन्हैयाले भनेका छन्, ‘अब त देशमा र्‍याली गर्न पनि अनुमति लिनुपर्छ। जसरी सरकारले विना जानकारी बुधबार राति क्यान्सिल गरिदियो।

अब स्वास लिन पनि अनुमति लिनुपर्ला। प्रहरीले भनिरहेको छ कि, हामीले हिरासतमा लियौँ भनेर । हामीसँग चाहिँ नागरिकता सावित गर्ने कागज मागिएको थियो। प्रहरी भने मलाई हिरासतमा राख्ने कागज देखाउन तयार छैन।’ कन्हैया भारतको विवादित नागरिकता कानुनको विरोध गर्दै एक महिने विरोध यात्रा गर्ने तयारीमा थिए। उक्त यात्रामा ५० वटा आमसभा गर्ने तालिका थियो।तर,भाषणवाजको रूपमा चिनिएका युवा नेता कन्हैया कुमारलाई उक्त विरोध यात्रा गर्नुअघि नै प्रहरीले पक्राउ गरेको हो।

कन्हैया कुमारले राजनीतिमा निष्ठा र इमानको पक्षमा वकालत गर्दैआएका छन्। पछिल्लो चुनावमा बिहारबाट पराजय भोगेका उनी एक प्रभावशाली वक्ताको रुपमा चिनिन्छन्।