एमसीसीमा सैन्य गठबन्धन जोडिएको छैन : गोकुल बास्कोटा

प्रकाशित मिति:

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा सैन्य गठबन्धन जोडिएको छ भनेर स्याल हुइयाँ गर्न आवश्यक नरहेको बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा एमसीसीबारे छलफल चलिरहेका बेला सञ्चारमन्त्री बास्कोटाले एमसीसीमा सैन्य गठबन्धन नजोडिएको दाबी गर्दै स्याल हुइया नगर्न सचेत गराएका हुन् ।

“एमसीसीमा सैन्य छ, छ, छ भनेर स्याल जस्तो कराउन पर्दैन । छ भने यति नम्बर बुँदामा छ भनेर भन्न सक्नुपर्छ,” मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । सरकारका प्रवक्ता बास्कोटाले नेपाल कुनै पनि सैन्य गठबन्धनसँग संलग्न नहुने जिकिर गर्दै एमसीसीमा कुनै सैन्य गतिविधि नजोडिएको दोहोर्‍याए ।