एभरेष्टमा पुरस्कार वितरण कार्यक्रम

प्रकाशित मिति:

बुटवल, १६ । एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयमा बिहीबार सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम भएको छ । विदालयले बिहीबार बसन्त पञ्चमी पर्व मनाउनका साथै खेलकुद सप्ताह २०७६ मा विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । यसैगरी शैक्षिक सत्र २०७५ सालमा विभिन्न कक्षामा प्रथम, द्वितीय, तृतीय साथै विभिन्न विधाबाट आफुलाई अग्र स्थानमा राख्न सफल विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । २०७५ सालको प्रवेशिका परीक्षामा सम्मिलित मध्ये ३.८ र सोभन्दा माथिको जिपीए ल्याउने विद्यार्थीहरु र विद्यालयमा १० वर्ष र २० बर्ष कार्यकाल पूरा गरेका शिक्षक तथा कर्मचारीलाईहरुलाई स्वर्ण र चाँदीको पदकले सम्मान गरिएको थियो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालय शिक्षा निर्देशनालय प्रदेश नं. ५ का निर्देशक मनोजकुमार गैरेले शैक्षिकसँगै अतिरिक्त कृयाकलापमा विद्यार्थीलाई अब्बल बनाउनु पर्ने उल्लेख गर्दै अहिलेको शिक्षा भनेको काम लाग्ने खालको हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, धर्मेन्द्रनाथ भट्टराई, प्राचार्य कृष्ण न्यौपाने, सह–प्राचार्य भीमसेन गौतम लगायतले आ–आफ्ना भनाई राख्नु भएको थियो । शिक्षकद्वय माधव प्रसाद पौडेल र पोषण आचार्यको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले सरस्वती पुजा गरेका थिए भने साना विद्यार्थीहरुलाई अक्षराम्भ गराइएको थियो ।