हवाइजहाजमा हेल्मेट, रेलमा बोतलको मास्क

प्रकाशित मिति:

एजेन्सी / यतिबेला महामारीको रुप लिएको कोरोना भाइरसले विश्व नै आतंकित भइरहेको छ । श्वासप्रश्वासबाट द्रुतरुपमा सर्ने यो रोगबाट बच्न विश्वभर नै विभिन्न सावधानी अपनाउन थालिएको छ ।विशेषगरी यो रोगको इपिसेन्टर चीनको मूख्य प्रभावित नगर वुहानमा मात्र नभइ चीनका अन्य ठूला शहरमा समेत विशेष सावधानी अपनाइएको छ । त्यहाँ सार्वजनिक स्थलमा हिँडडुल गर्दा मास्क मात्र नभई रोकथामका लागि प्लास्टिले पुरै मुख छोपेर हिँड्ने गरेको समेत भेटिएको छ ।

यस्तैमा कोरोना भाइरसबाट जोगिन एक यात्रुले हवाइजहाजमा यात्रा गर्दा समेत मोटरसाइकलको हेल्मेट नै लगाएर यात्रा गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेलीमेलका अनुसार उक्त यात्रु बुधवार चीनको सांघाइबाट अष्ट्रेलियाको पर्थका लागि उँडेका थिए । उनले यात्राभरी नै हेल्मेट लगाएर मुख समेत देखाएका थिएनन् । त्यस्तै रेलमा यात्रा गर्ने यात्रुहरुले पनि कोरोनाबाट जोगिन प्लास्टिकका बोतल काटेर मास्क बनाएर लगाएका छन् ।चीनमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १०६ जनाको मृत्यु भइसकेको छ भने ५९७४ जना संक्रमित भएका छन् । अझ यो संख्या बढ्ने आशंका गरिएको छ ।