रोनाल्डोविरुद्ध अर्को बलात्कारको आरोप !

प्रकाशित मिति:

असो २३ रोम, (एजेन्सी)
पोर्चुगल तथा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि अर्को बलात्कारको अरोप लागेको छ ।

पहिलो बलात्कारको आरोप लागेको केही साता बित्न नपाउँदै रोनाल्डोमाथि दोस्रो बलात्कारको आरोप लाग्यो । लास भेगासमा सन् २००९ को घटनालाई लिएर रोनाल्डोविरुद्ध अमेरिकी महिला क्याथरिन मायोर्गाले मुद्दा दर्ता गरेपछि मायोर्गाको वकिललाई अर्की एक महिलाले फोन गरेर उनीमाथि पनि रोनाल्डोले जबर्जस्ती गरेको बताएको इङ्लिस मिडिया द मेलले जनाएको छ ।

मायोर्गा जस्तै घटना भोगेको अर्की एक युवतीले सम्पर्क गरेको मायोर्गाकी वकिल लेस्ली स्टोभलले बताएकी छन् । उनले ती युवतीको नाम सार्वजनिक नगर्ने तर प्रहरीलाई भने जानकारी दिने बताएकी छन् । ती युवतीले सन् २००५ को अक्टूबर २ मा लन्डनको होटल स्यान्डरसनमा रोनाल्डोले आफूलाई बलात्कार गरेको बताएकी छन् ।

जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई मायोर्गाले रोनाल्डोले उनीमाथि बल प्रयोगका साथ करणी गरेको आरोप लगाएकी थिइन् । उनकाअनुसार सन् २००९ मा रोनाल्डोले लास भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताएकी छन् ।

यता उनीसँग आजीवन प्रायोजन सम्झौता गरेको विश्व चर्चित खेल सामग्री उत्पादन कम्पनी नाइकीले भने यो विषयलाई गम्भीरताका साथ लिएको जनाइएको छ । यसअघि नै बलात्कारको आरोप लागेका कारण पोर्चुगलको राष्ट्रिय टिममा समेत रोनाल्डोलाई स्थान दिइएको थिएन ।