लुम्बिनी शिक्षालय, ज्ञानपुञ्ज र ह्वाइट रोजमा अक्षरारम्भ

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल- बुटवलका विभिन्न शैक्षिक संस्थाहरुमा सरस्वती पूजाका अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । उक्त अवसरमा बालबालिकालाई अक्षरारम्भ गराइएको छ भने अघिल्लो शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । यसैक्रममा रुपन्देहीको बुटवल ९, कालिकानगरस्थित लुम्बिनी शिक्षालय,बुटवल ११ नहरपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कूल र बुटवल ४ लक्ष्मीनगरस्थित ह्वाइट रोज बोर्डिङ स्कूलमा सरस्वति पूजाको अवसरमा विद्यार्थीहरुलाई अक्षरारम्भ गराइएको छ । लुम्बिनी शिक्षालयमा श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्यालयले करिव सय जना विद्यार्थीलाई निःशुल्क भर्ना तथा अक्षराम्भ गराएको विद्यालयका प्रिन्सिपल पुष्कर थापा क्षेत्रीले जानकारी गराए । प्ले ग्रुपमा ७० जना विद्यार्थी तथा अन्य कक्षाहरु नर्सरी, एल केजी र यू केजीमा नयाँ विद्यार्थी भर्ना गरिएको उनले जानकारी दिए । नीजिस्तरबाट विगत २२ वर्षदेखि सञ्चालनमा रहेको यस विद्यालयमा ४ सय बढी विद्यार्थी अध्यनरत छन् ।

विद्यालयको शैक्षिक स्तर सुधारका लागि नयाँ व्यवस्थापनमा सञ्चालन भएको यस शैक्षिक संस्थामा व्यवहारिक तथा प्रयोगात्मक शिक्षालाई थप जोड दिने गरिएका प्रिन्सिपल थापाले दावी गरे । सरस्वति पूजाको अवसर पारी विद्यालयमा मँगलबार खाना महोत्सव आयोजन गरिनुका साथै विद्यार्थीहरुको नतिजा प्रकाशन समेत गरिएको सह–प्राचार्य सतिष गैरेले जानकारी गराए । खाना महोत्सवमा कक्षा ६ देखि कक्षा ८ सम्म अध्यन गर्ने विद्यार्थीहरुले तयार पारेका खानाका परिकारहरु राखिएको थियो । नैतिक शिक्षा र व्यवहारिक ज्ञानलाई टेवा पुग्नेगरी कार्यक्रमको आयोजना गरिएको गैरेले बताए । यसैगरी बुटवल ११ नहरपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ हाइस्कूलमा पनि सरस्वती पूजाको अवसरमा नयां विद्यार्थीलाई अक्षरारम्भ गराइएको छ । सो अवसरमा करिब एक सय ५० बालबालिका निशुल्क भर्ना हुन आएका विद्यालयका संस्थापक प्राचार्य तोयाराम पौड्यालले बताए ।

विद्यालयको उत्कृष्ट शैक्षिक नतिजाका कारण सरस्वती पूजाकै दिन ढेड सय जना विद्यार्थी भर्ना हुन आएका भाइस प्रिन्सिपल हिमलाल न्यौपानेले बताए । विद्यालयले शुक्रबार गत शैक्षिक वर्षका उत्कृष्ट विद्यार्थी र हालै सम्पन्न खेलकुद सप्ताहका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्ने र अभिभावक दिवस मनाउने कार्यक्रम रहेको विद्यालयका कोअर्डिनेटर सूर्य पाण्डेले बताए । यसैगरी बुटवल ४, लक्ष्मिनगरनगरस्थित ह्वाइट रोज एकेडेमी लुम्बिनीले सरस्वति पूजाको अवसरमा विद्यार्थीहरुलाई अक्षारारम्भ गराउनुका साथै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्यालयले ५० जना बढी विद्यार्थीलाई निःशुल्क भर्ना तथा अक्षारारम्भ गराएको विद्यालयका प्रिन्सिपल विनोदप्रसाद ज्ञवनलीले जानकारी गराए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ प्रदेश सभा सदस्य कल्पना पाण्डे लम्सालले मुलुकको शैक्षिक स्तर सुधारका लागि निजि क्षेत्रले योगदान गरेको भन्दै प्रशंसा व्यक्त गरिन् । कार्यक्रममा बुटवल ४ का अध्यक्ष टंक पराजुली, अभिभावक संघ प्रदेश ५ अध्यक्ष हेम थापा, अभिभावक टिकाराम घर्ती मगर लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयमा सञ्चालन गरिएका अतिरिक्त क्रियाकलाप तथा शैक्षिकसत्र २०७५ का उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको भाइस प्रिन्सिपल संगीता लम्सालले जानकारी दिइन् ।