बिल गेट्सकी छोरीको ‘इंगेजमेन्ट’ इजिप्टका खेलाडीसँग

प्रकाशित मिति:

एजेन्सी – संसारका सबैभन्दा धनाढ्य व्यक्तिमध्ये एक बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इन्गेजमेन्ट गरेकी छिन् । जेनिफरले यो कुरा आफ्नो इन्स्टाग्राम ह्यान्डलमा तस्बिर पोष्ट गर्दै दिएकी छिन् । २३ वर्षीया जेनिफरलाई २८ वर्षीय नायेलले एक सुन्दर हिउँले ढाकेको स्थानमा लगेर प्रस्ताव गरेको उनले इन्स्टाग्राम मार्फत् जानकारी दिए । नायेलले जेनिफरलाई हिराको औंठी दिँदै ‘जीवन रहुञ्जेल साथ दिन्छौ’ भनेर अनुमती मागे । जेनिफरले तत्काल ‘हुन्छ’ भनिन् । त्यसपछि ती दुईले एक अर्कालाई चुम्बन गरे र अँगालो हाले ।

जेनिफर र नायेल एक अर्कालाई करिब चार वर्षदेखि चिन्छन् । जेनिफर बिल र मेलिन्डा गेट्सकी जेठी छोरी हुन् । नायेल इजिप्टका सबैभन्दा युवा धनाढ्यमध्येका एक हुन् । जेनिफरले आफ्नो इन्स्टाग्राम प्रोफाइलमा आफ्नो इन्गेजमेन्टको तस्बिर सेयर गर्दै लेखिन्, ‘नायेल नसार, तिमीले गत हप्ता यहाँ मलाई प्रस्ताव गरेर मैले टेकेको जमिन कम्पन गराइदिएको छौ । म अब आफ्नो पूरा जीवन तिमीसँग बिताउन प्रतिक्षा गर्न सक्दिनँ ।’जेनिफरले इन्स्टाग्राममा थपिन्, ‘म नायेलसँग आफ्नो पूरा जीवन विकसित गर्दै, सिक्दै, हाँस्दै र एकअर्कालाई प्रेम गर्दै बिताउन चाहन्छु । र म तिमीलाई करोडौं पटक प्रेम गर्न चाहन्छु ।’

यस्तै, नायेल नसारले आफ्नो इन्स्टाग्राममा लेखे, ‘उनले हुन्छ भनिन् । म आफूलाई संसारकै भाग्यमानी व्यक्ति महसुस गरिरहेको छु । जेन, मैले आजसम्म जतिपनि सोचेँ, जे पनि सोचेँ, ती सबैभन्दा माथि तिमी छौ । म आफ्नो जीवन तिमीबिना बाँच्न सक्दिनँ । तिमीसँगै बस्नु भनेको हरेक दिन सपना झैं बाँच्नु हो ।’ इन्स्टाग्रामको तस्बिर हेर्दा यस्तो लाग्छ कि यी दुई कुनै स्की रिसोर्टमा छ । यद्यपि, यी दुईले आफ्नो लोकेशनबारे कुनै जानकारी सेयर गरेका छैनन् ।