प्यारामाउन्टमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न 

प्रकाशित मिति:

बुटवल/ रूपन्देहीको तिलोत्तमा नगरपालिका–१स्थित प्यारामाउन्ट बोर्डिङ स्कूलमा शुक्रबार जिल्ला स्तरीय रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सामुदायिक र संस्थागत गरी ३९ विद्यालय सहभागी प्रतियोगिताको उपाधि न्यू होराइजन मावि बुटवलले जितेको छ । गत वर्ष पनि होराइजन मावि नैं विजयी भएको थियो । त्यस्तै सिद्धार्थ मेमोरियल एकेडेमी दोस्रो,शान्ति नमूना मावि तेस्रो र देवदह मदर टङ्स तथा कान्ति मावि बुटवल सान्त्वना भएका छन् । प्रतियोगितामा विजयी विद्यालयलहरूले क्रमशः १५ हजार, १२ हजार र ९ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै सान्त्वना हुने विद्यालयका विद्यार्थीले नगद १÷१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विद्यार्थीहरूलाई किताबी ज्ञानसंगै ब्यवहारिक र जीवन उपयोगी ज्ञान र सीप पनि सिकाउनुपर्ने सुझाव दिए । उनले तिलोत्तमा नगरपालिकालाई देशकै पहिलो खुला प्लास्टिकमुक्त बनाउने अभियानमा विद्यालय र विद्यार्थीहरूको पनि साथ चाहिने बताए । तिलोत्तमामा छिटै सूचना प्रविधि विषय पढाई हुने कलेज स्थापना हुन लागेको पनि घिमिरले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र वर्माले विद्यार्थीलाई समय सापेक्ष गुणस्तरीय शिक्षा दिन र पर्याप्त पुर्वाधारमा संस्थाले सम्झौता नगरेकै कारण प्यारामाउन्ट नगरपालिकाको मात्र नभई जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित भएको बताए । विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसालले विद्यार्थीको शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलाप सहित विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको बताए ।विद्यालयले हरेक वर्ष आयोजना गर्ने हाजिरीजवाफ प्रतियोगिताले जिल्लामा रहेका संस्थागत र सामुदायिक विद्यालयबीच आपसी भाइचारा सम्बन्ध सुमधुर बनाउने प्राचार्य भुसालले बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख गंगाराम आचार्य, प्याब्सनका केन्द्रीय सदस्य हेमलाल शर्मा भुसाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, तिलोत्तमा वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डे लगायतले बोलेका थिए । यस क्षेत्रकै कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दिवाकर पन्थीले गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । प्यारामाउन्टले विगत लामो समयदेखि जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको छ ।