कोरोना भाइरसले विश्व नै आतंकित

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ । चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो । चिनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पूरै चीनभर र विश्वका २० भन्दा बढी देशमा देखिएको छ ।कोरोना भाइरसको प्रकोप फैलिरहँदा चीनमात्रै होइन पूरा विश्वलाई यसको सन्त्रासले आतंकित पारेको छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ ।कोरोना भाइरसको उत्पति भएको ठाउँ चीनको हुवानका सडकमै मानिसको शव भेटिन थालेको छ । वुहानको सडकमा कोरोना संक्रमण कै कारण मृत्यु भएको आशंका गरिएका एक व्यक्तिको विहीबार शव भेटिएको हो ।कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहानको सडकमा हातमा प्लास्टिकको झोला समातिरहेको अवस्थामा शव फेला परेको हो । एफपीले ती व्यक्तिको मृत्यु कसरी भयो भन्नेबारे केहि पुष्टि नभएको जनाएको छ ।केही समय अगाडि चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको थियो ।

सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।यसैले पनि उपचारमा खटिने स्वास्थ्यकर्मीहरु भयभित देखिएका छन् । वुहान सहरमा उपचारका लागि गइरहेका चिकित्सक तथा नर्सका आफन्तहरुले ती सहरमा पठाउनका लागि बिदाइ गर्दा आँसु थाम्न सकेनन् ।बेलायतमा एकै परिवारका दुई सदस्यमा कोरोना भाइरसको संक्रमण फेला परेको इंग्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारीले घोषणा गरेका छन् । संक्रमितलाई न्यु क्यासलमा रहेको विशेष केन्द्रमा राखेर उपचार गरिँदै छ ।कोरोना भाइरस रोकथामका लागि मंगोलियाले चीनबाट आउने चिनियाँ तथा अन्य पर्यटकहरुलाई आगामी मार्च २ सम्मका लागि प्रतिबन्ध लगाएको छ । यसैगरी शुक्रबार मात्रै इटाली सरकारले त्यहाँ आपतकाल घोषणा गरेको छ ।त्यस्तै नेपाली विकास आयोजनामा कोरोना भाइरसको प्रभाव देखिएको छ । विभिन्न विकास आयोजनामा कार्यरत चिनियाँ परमर्शदाता, ठेकेदार, व्यवस्थापक र कामदार नयाँ वर्ष मनाउन चीन गएपछि नेपाल फर्किएका छैनन् । यसले केही महत्वपूर्ण आयोजनाहरु प्रभावित हुने डर पैदा भएको छ ।

नयाँ वर्ष मनाउन धेरै चिनियाँ प्राविधिक, कामदार र व्यवस्थापकहरु घर गएका बेला त्यहाँ कोरोना भाइरसको संक्रमण फैलिएको छ । चीनमा कतिपय प्रान्तले अर्को प्रान्तमा हुने आवतजावतमा कडाइ गरेपछि त्यहाँ पुगेका कामदार नेपाल आउन समस्या भएको छ ।विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालमा त्यसको रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनवटा समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालकोको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको हो ।यसैबीच कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका सबै नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन नेपाली कांग्रेसले माग गरेको छ ।कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर नदेखिनु दुःखत भएको भन्दै यथाशीघ्र नेपाल फर्काउन माग गरेका हुन् । वुहानमा करिब एक सय नेपाली विद्यार्थी भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया