मन्त्री बरालको आग्रह :मानव सेवा आश्रमको महायज्ञलाई सहयोग गरौं

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल  –  प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले मानव सेवा आश्रमको भवन बनाउन बुटवलमा गरिने महायज्ञलाई सबैले आर्थिक र भौतिक सहयोग गर्नुपर्ने बताएका छन् । महायज्ञ आयोजक समितिले शनिबार बुटवलमा जनप्रतिनिधि र संघसंस्थाका प्रमुखहरुसंग गरेको छलफलमा मन्त्री बरालले सहयोगापेक्षी सडक मानवलाई व्यवस्थापन गर्न भवन बनाउने उद्देश्यले आयोजित महायज्ञलाई सफल बनाउनु सबैको दायित्व भएको बताए । प्रदेश सरकारले प्रदेश ५ लाई सडक मानवमुक्त बनाउने लक्ष्य राखेको सन्दर्भमा मानव सेवा आश्रमले सडक मानवलाई व्यवस्थापन गर्न भवन निर्माण र अक्षय कोष स्थापनाका लागि महायज्ञ आयोजना गरेर सरकारलाई नै सहयोग गरेको बताए । उनले आफ्नो मन्त्रालय समेत महायज्ञ सफल बनाउन भूमिका खेल्ने बताए । यो महायज्ञ बुटवलवासीको मात्र नभई सिंगो ५ नम्बर प्रदेशवासीको महायज्ञको रुपमा लिन र गच्छे अनुसार सबैले दान गर्ने वातावरण बनाउन मन्त्री बरालले आयोजकलाई सुझाव दिए । कार्यक्रममा संविधान सभा सदस्य नेत्र पन्थी, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले मानव सेवा आश्रमको महायज्ञ अरु

ठाउंमा गरिने भन्दा फरक मानवीय सेवाका लागि आयोजना गरिएकाले यसलाई सफल बनाउनु सबैको दायित्व भएको बताए । कार्यक्रममा बुटवल वडा नंं. ७ का अध्यक्ष कमलप्रताप थापा,वडा नंं. ८ का भीमबहादुर श्रेष्ठ,४ का टंक पराजुली,१० का पदम थापा,११का रामचन्द्र क्षेत्री ,जनउत्थान वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानु पौड्याल, क्षेत्री समाज बुटवलका अध्यक्ष कूलबहादुर केसी,लगायतले महायज्ञलाई सफल बनाउन आफूहरुले कुनै कसर बांकी नराख्ने बताए । महायज्ञ मूल आयोजक समितिका संयोजक लोकनाथ भुसालले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउंदै सबैले आफ्नो महायज्ञ सम्झेर सफल बनाउन लाग्नुपर्ने आग्रह गरे । बेसहारा र सहयोगापेक्षी सडक मानवलाई व्यवस्थापन गर्न चार तले भवन बनाउन आर्थिक संकलन गर्ने उद्देश्यले यही माघ २० गतेदेखि २७ गतेसम्म सुख्खानगरको भाटभटेनी चोकमा हुने महायज्ञमा स्थानीयको उत्साहजनक सहभागिता गराउन बुटवलका घरघरमा करिब ३० हजार निमन्त्रणा पत्र बांडिएको मूल आयोजक समितिका सचिव गुनाराम घिमिरेले बताए महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित,गुरुहरूको सामूहिक उपस्थिति,राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरु रहने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया