रामविरले आखिर के का लागि त्यागे पद ? सजिलै बन्लान त सांसद बामदेब !

प्रकाशित मिति:

 असोज २३ काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजिनामा पत्र बुझाएका छन्। बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमका लागि सांसद मानन्धरले राजिनामा दिएका हुन् ।

सांसद मानन्धरले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष सोमबार पार्टीका बरिष्ठ नेता बामदेव गौतमलाई प्रतिनिधि सभामा पुर्‍याउन राजिनामा पत्र बुझाएका हुन्। सो राजिनामा पत्र प्रचण्डले सोमबार बसेको सचिवालय बैठकसम्म पुर्याए भने बैठकमा महासचिव बिष्णु पौडेलले पढेर सुनाए। मानन्धरले राजिनामा दिए पनि स्वीकृत भैसकेको छैन ।

सांसद मानन्धरले प्रचण्ड र गौतमसमक्ष राजिनामाका लागि शर्त राखेका थिए। उनका आफुलाई नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनु पर्ने शर्त रहेका छन् । सो शर्तमा प्रचण्ड र गौतमले सहमति जनाएपछि मानन्धरले राजीनामा दिएको बुझिएको छ ।

मानन्धर तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री तथा राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

बर्दियाबाट नेपाली काँग्रेससंग पराजित भएका नेकपा सचिवालय सदस्य गौतमलाई पहिले डोल्पाबाट चुनाव लडाउने तयारी गरिएको थियो । डोल्पाका सांसद धनबहादुर बुढाले आफू सिट छाड्न तयार रहेको तर स्थानीयसंग सल्लाह लिने भन्दै स्थानीय भेट्न पुगे । तर कमान्डले नछाड्न भनेपछि बुढाले स्थानीयले कुनै पनि हालतमा नमान्ने बताएकाले नछाड्ने उद्घोष गरे ।

त्यसपछि गौतमलाई कहिले दैलेख, कहिले नवलपरासी त कहिले बाँकेबाट चुनाव लडाउने तयारी भयो । उनका लागि ठूलो रकम खर्चेर सांसद भएकाहरु त्याग गर्न तयार भएनन् ।

राजनीतिक इच्छाशक्ति भएका वामदेवलाई सांसद बनाउनका लागि प्रधानमन्त्री ओली सकारात्मक बन्दै गएको बुझिन्छ । वामदेवको हारपछि ओली निर्विकल्प प्रधानमन्त्री भए । उनको विकल्प खोजिएन । वामदेव पार्टी एकता हुनुअघि नै प्रधानमन्त्रीका दावेदारका रुपमा हेरिएको थियो । एमाले र माओवादी केन्द्रका मध्यस्थकर्ताका रुपमा वामदेव रहेकाले उनलाई प्रधानमन्त्रीको मुख्य दावेदार हेरिएको थियो । दुई पार्टीका अध्यक्षहरुको विकल्प वामदेव नै थिए ।

उच्च स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको असहयोग बढेकाले ओली अब आफ्ना पुराना भरोसालायक नेता वामदेवलाई नै विकल्पका रुपमा हेर्न थालेका छन् । प्रचण्डले भारत र चीनको भ्रमण आफू सत्तामा पुग्ने भर्याङ मजबुद पार्न गरेको र सिंगापुरमा बसेर भविष्यको ग्राण्ड डिजाइन बुनेको आशंका ओलीलाई छ ।