पाँच अर्ब लगानीमा पोखरामा पानी शुद्धीकरण आयोजना

प्रकाशित मिति:

असोज २३ काठमाडौं । खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी संस्थानको सक्रियतामा जापनीज नियोग जाईकाले पोखराको मादी खोलालाई पूर्ण प्रशोधन गरी खानेपानीको वितरण गर्न टेण्डर आह्वान गर्ने भएकाे छ।

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको समीक्षा बैठकमा खानेपानी संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्नका लागि जाईकाले टेण्डर आव्हान गर्न लागेको जानकारी दिएको छ। जाईकाको सहयोगमा ४ अर्ब ८० करोडको लगानीमा टेण्डर आव्हान सुरु हुन लागेको हो।

मन्त्रालयले पहिलो पटक यति ठूलो लगानीमा पोखरामा खानेपानीको शुद्धीकरण गर्ने आयोजना सुरु गर्न लागेको हो। यसबाट पोखरा र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन्।

त्यसैगरी बैठकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा पहिलो पटक काठमाडौंमा वाटर एटीएम सुरु हुन लागेको जानकारी गराईयो। आउँदो बिहीबारदेखि ललितपुरको सैंबु स्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा। संजीव विक्रम राणाले जानकारी दिए। निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाईने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गर्न लागिएको हो। यस्तो खालको एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताए।

त्यस्तै बोर्डबाट गठन भएको टास्क फोर्सले गत भदौ ३० गते र असोज ५ गते सम्पन्न गरेको अनुगमनबाट हालसम्म १८ वटा ट्यांकरहरुलाई स्टीकर प्रदान गरिएको र मापदण्ड विपरीत सञ्चालन भएका ट्यांकरहरुलाई ३६ हजार रुपैंया जरिवाना गरिएको बैठकमा जानकारी दिएको छ।

त्यस्तै बैठकमा मन्त्रालयले दुई साता अघि गठन गरेको पानीको स्रोत संरक्षण तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन मस्यौदा समितिले देशैभरि ढल तथा फोहोर पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी गराएको छ।

बैठकमा खानेपानी मन्त्री बिना मगरले देशभरका स्थानीय निकाय तथा जनताबाट संकलित योजनाहरुलाई कार्यान्वयन गर्ने उद्देश्यले योजना बैंक बनाउने बताए। देशैभरिबाट संकलित योजनाहरुलाई योजना बैंकमार्फत अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिए। उनले देशैभरि रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत पूर्ण सरसफाईको अभियानलाई अघि बढाउँदै लैजाने बताउनुभयो । पूर्ण सरसफाई सँगै ढलको व्यवस्थापनलाई समेत अगाडि बढाउने उनको उद्घोष छ।