कैलालीको लम्की क्षेत्रमा तनावग्रस्त

१९ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


धनगढी – मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको घटनालाई लिएर पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा सडकखण्ड आज तनावग्रस्त बनेको छ ।मोटरसाइकल दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारवाहीको माग गर्दै स्थानीयवासीले बिहानैदेखि अवरुद्ध पारेको सडक खुलाउने क्रममा प्रहरीमाथि ढुङगा प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

यस क्रममा प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रयोग गरेको थियो । ढुङ्गा प्रहारबाट प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टसहित केही प्रहरी सामान्य घाइते भएका छन् । लम्कीचुहा सडकखण्ड अवरुद्ध हुँदा यातायात आवागमन बिहानैदेखि ठप्प छ ।शुक्रबार राति सो सडकखण्डमा से२प१८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लम्की चुहानगरपालिका–६ का मायाराम चौधरीको मृत्यु भएको थियो । प्रहरीले उक्त मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । अहिले समस्या समाधानका लागि सर्वपक्षीय बैठक बसिरहेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया