आहा नयाँ नोट :राष्ट्र बैंकमा नयाँ नोट साट्नेको भीड

प्रकाशित मिति:

असोज २३ काठमाडौं– नेपालीहरुको महान वडादशैंका लागि नयाँ नोट सटही आइतबारदेखि शुरु भएपछि विभिन्न बैंकहरुमा नोट साट्नेको भीड लागेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय तथा क्षेत्रीय कार्यालय र केही वाणिज्य बैकहरुबाट नयाँ नोट सटही गर्न सकिने व्यवस्था गरिएको छ ।

नयाँ नोट साट्नेको लागि विहानदेखि लाइमा बसेका छन् । थापाथली स्थित नेपाल राष्ट्र बैंकमा विहान ६ बजदेखि नयाँ नोट साट्न लाइनमा बसेकी गोरखा दरबुङकी रामाया थापाले सुनाइन ।

नेपालीहरुको महान चाड विजया दशमीमा नयाँ नोट एक व्यक्तिले ५, १०, २० र ५० रुपैयाँ दरका २र२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न सक्नेछन् ।

कहाँ कहाँबाट साट्न पाइन्छ ?
नेपाल बैङ्कको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट साट्न सकिने छ भने राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कका काठमाडौं उपत्यकाभित्र रहेका शाखाहरुले पनि नोट सटहीको सुविधा उपलब्ध गराउने छन् ।
उपत्यका बाहिरको हकमा राष्ट्र बैङ्कका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैङ्कका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ । सर्वसाधारणले असोज २९ गतेसम्म नयाँ नोट साट्न पाउने राष्ट्र बैङ्कले जानकारी दिएको छ ।