दसैंखर्च जुटाउन काठमाडौं हिँडे राउटे

प्रकाशित मिति:

असोज २३ सुर्खेत : राउटेहरू दसैंका लागि खर्च जुटाउन भन्दै संघीय राजधानी काठमाडौंतर्फ लागेका छन्। जंगलमा सिकार पाउन छाडेको र दसैं मनाउन खर्चको जोहो नभएपछि राउटे मुखियासहितको टोली काठमाडौं गएको हो। काठमाडौंमा प्रधानमन्त्री केपी ओलीलाई नै भेटेर दसैंका लागि खर्च जुटाएर फिर्ता हुने राउटेको योजना छ।

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे हिजोआज सुर्खेतको लेकबेंसी नगरपालिका-९ गंगटेको जंगलमा बस्दै आएका छन्। यसअघि दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका राउटे जंगलमा काठ र सिकार दुवै नपाएपछि सुर्खेत झरेका छन्। दसैंमा राउटेले खसी काटेर मनाउने गर्छन्। यसपालिको दसैं नजिकिँदै जाँदा खर्चको जोहो नभएपछि उनीहरू प्रधानमन्त्रीलाई नै भेटेर दसैंखर्च माग्न काठमाडौं हिँडेका हुन्।

‘जंगलमा बाँदर पाइन छाड्यो, काठ पनि काट्न दिँदैनन्’, राउटे मुखिया हरिबहादुर शाहीले भने, ‘हामीलाई छाक टार्नै समस्या छ, दसैं पनि आइसक्यो। अब हाम्रा जनताले दसैं कसरी मनाउने ? प्रधानमन्त्रीलाई भेटेर खसी ल्याएर फर्किन्छौं।’ मुखियासहित चार जना राउटेको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौं हिँडेको हो। प्रधानमन्त्री ओलीसँग भेटेर आफ्ना जनताको गुनासो र बस्तीको समस्या सुनाउने योजना रहेको मुखिया हरिबहादुरले बताए। उनले भने, ‘मेरा जनतालाई दसैंमा खसी चाहिन्छ, नयाँ लुगा पनि माग्छन्। हामीसँग त्यो किन्न पैसा छैन, अब प्रधानमन्त्रीसँग भेटेर मागेर ल्याउने हो।’ उनले जंगलमा सिकार पाउन छाडेकाले पनि आफूहरूलाई समस्या भएको सुनाए।

राउटे समुदायमा ४६ परिवारका एक सय ४९ जना छन्। राउटे उत्थान प्रतिष्ठान नेपालको संयोजनमा उनीहरू प्रधानमन्त्रीलाई भेट्न हिँडेका हुन्। दसैंखर्च जुटाउन काठमाडौं हिँडेका राउटेले आफूहरू खसी ल्याएर मात्र फिर्ता हुने बताए। पछिल्लो समय सामुदायिक वनले काठ काट्न नदिएको र सरकारी जंगलमा पनि प्रतिबन्ध लगाउँदा आफूहरूलाई जीविकोपार्जनमा कठिनाइ भइरहेको राउटेको गुनासो छ। यही गुनासो प्रधानमन्त्रीलाई सुनाउने र जंगलमा सहज रूपमा प्रवेश पाउने गरी नीति बनाउन आग्रह गर्ने योजना राउटेको छ। राउटे उत्थान प्रतिष्ठान नेपालका उपाध्यक्ष यज्ञबहादुर बुढाले भने, ‘राउटेले जंगलमा सहज प्रवेश पाएका छैनन्, यसले उनीहरूको जीविकोपार्जनमै समस्या भयो। अब यो विषय प्रधानमन्त्रीलाई अवगत गराउनेछौं, जंगललाई राउटेमैत्री बनाउने गरी नीति बनाउन हाम्रो सुझाव हुनेछ।’

जंगलमा काठ पाउन छाडेपछि राउटेले पछिल्लो समय काठका सामग्री बनाउन छाडेका छन्। यसकारण पनि उनीहरू परनिर्भर बन्दै गएका हुन्। सरकारले उनीहरूको जीविकोपार्जनका लागि मासिक रूपमा भत्ता उपलब्ध गराउँदै आएको छ। तर, राउटेहरू घुमन्ते जीवन बिताउने भएका कारण भत्ता वितरणमा पनि कठिनाइ हुने गरेको हो। अब आफूहरूले बस्ती सरेकै स्थानमा उक्त भत्ता पाउनुपर्ने माग मुखिया हरिबहादुरले गरे।