असत्य र जडपछि कुदेर आनन्द कसरी मिल्छ ?

प्रकाशित मिति:

रुखका जराहरू तल भूइँभित्र अनि हाँगाहरू बाहिर माथि हुन्छन्, तर संसार रूपी वृक्षको जरा माथि अनि हाँगाहरू तलतिर फैलिएका हुन्छन् । जरा यानी जडतिर जानाले सुख- शान्ति तथा मोक्ष मिल्छ । काम, क्रोध, लोभ, मोह, अहंकार रूपी चौरासीमा फस्नाले कष्ट अथवा चौरासी लाख योनि मिल्छ । संसारमा दुई चीज छन्, एउटा चञ्चल, असत्य र जड, जसलाई अपरा प्रकृति भनिन्छ अनि अर्को सत्य, निश्चल, चेतन वस्तु छ। करोडौं मनुष्यमा विरलै मनुष्यले निश्चल तथा सत्यलाई जान्ने मन गर्दछन् ।

विरलैले मात्र सबै कुरामा सत्यको सम्बन्ध रहेको जान्दछन | सत्यको बारेमा व्याख्यान दिने अनेक मनुष्य पनि चञ्चल अनि अनित्य जड मायातिर नै दौडिरहेका छन । चञ्चल मायामा नै जन्म हुन्छ, यसैमा शरीर बढछ, यसै अनित्यलाई पाउनको लागि चञ्चल रहन्छ अनि अन्त्यमा त्यसैमा शरीर पनि छोडछ। सारा संसारका प्राणी चञ्चलतातिर दौड लगाइरहेका छन् अनि त्यहि चेष्टामा मर्दै गइरहेका छन्, तर पनि छाँयाको पछाडि छाँयालाई समात्न दौडेको जस्तो दौडिरहेका छन्, जुन छाँया कसैको पकडमा आउँदैन।

शरीर जड अनि आत्मा चेतन छ। संसार सपनाको चीज जस्तो बदलिरहन्छ, तर आजका समस्त संसारले आत्मालाई भूलेर जड मायालाई चाहन्छन्, तर जड पदार्थहरुमा चेतनको आनन्द कहाँ मिल्न सक्छ? आज सबैले आत्मालाई भूलेर शरीरलाई सजाउँनमा लागेर आफ्नो आयु व्यर्थ गुमाइरहेका छन् । भ्रमवश मानिसहरु अनित्य संसारलाई नित्य सम्झन्छन् अनि जुन आत्मा नित्य छ, यसको अस्तित्वमा सबैलाई सन्देह हुन गएको छ। जसले आत्मालाई जान्न चाहन्छन् या साधन  गर्दछन्, उनीहरूले पनि जड पदार्थहरूकै मात्र पूजन-ध्यान गरिरहेका छन् । तर जडद्वारा चेतनको ज्ञान कसरी हुन सक्नेछ ।

आजको युग मायावाद (materialism) हो। आजको युगलाई कलियुग भनिन्छ। चारैतिर कलहको, झगडाको राज  छ। दूध, घिउ, खान-पान सबै मेशिनहरूद्वारा बन्न थालेका छन्। यहाँसम्म कि मेशिनद्वारा सन्तान पनि उत्पादन गरिन थालिएको छ। सबैले मेशिनहरूद्वारा सुख-शान्ति पाउन चाहन्छन् । यस्ता मानिसहरूको दृष्टिमा ईश्वर नामको कुनै  चीज छैन । राम्रो अग्ला-अग्ला भवनहरु, टेबल,  कुर्सी, सोफा, टिभी, सिनेमा, क्लब नै मानिसहरुको लागि सबै कुरा भएका छन्, तर जसले पनि यी चीजहरूमा शान्ति सम्झन्छन्, यो उनीहरुको भूल हो; किनभने मेशिनको या विज्ञानको विकासद्वारा उच्च शिखरमा पुगेर पनि शान्ति नपाएर मानिसहरू रोई-कराई गरिरहेका छन । भोका-प्यासा, रोगी दरिद्रहरू त रोईरहेका छन् नै, तर  धनीमानी तथा अरुलाई शान्ति दिनेहरू पनि स्वयं अशान्त र दुःखी भएर दिन-रात यता-उता दीडिरहेका  छन् । पञ्चशील सिद्धान्त शान्ति ल्याउन बनाएका थिए, तर  त्यसबाट पनि संसारमा शान्ति आएन ।

उसो त संसारका सबै मानिस अनि सबै देशले आफ्नो वातावरणको अनुसार अनेक कुराहरूमा उन्नति र शान्ति सम्झन्छन। जुन देशमा अन्नको कमी छ, त्यो देशले सम्झन्छ, अन्न धेरै उब्जाउनाले देशको जनता सुखी हुने छन् । जसकोमा मेशिनरी र हतियारहरू छैन, उनीहरू मेशिन र हतियारहरू पायो भने शान्ति मिल्छ भनेर सम्झन्छन् । तर यो कसैले सोच्दैन कि शान्ति र सुख सारा संसारको लागि एउटै छ। जसरी मिश्री र गुड सबैलाई मीठो अनि नीम सबैलाई तीतो लाग्छ, उस्तै शान्ति पनि सबैको लागि एकै छ। भोगीले भोगहरूलाई शान्ति सम्झन्छ, तर योगीको लागि भोग रोग समान हुन्छ । फेरि भोग सबैलाई शान्ति दिने कहाँ भयो? यसमा पनि मिश्री भन्दैमा मुख मीठो अनि नीम भन्दैमा मुख तीतो हुँदैन, उस्तै गरी शान्ति-शान्ति भन्दैमा या शान्ति सम्मेलनमा भाषण दिदैमा मात्र संसारमा कहिल्यै शान्ति हुन सक्दैन।

हजारौं मानिसहरुले बिहान-बेलुकी संन्ध्या-पाठमा शान्ति पाठ पनि गर्दछन्, तर के यसरी शान्ति पाठ गर्दैमा कसैलाई शान्ति भएको पनि छ? सबैको अन्तरात्मा अशान्त छ । संसार बमहरुको मारले अशान्त छ। वृक्षहरु अशान्त छन्, पानीमा मिसाइलरूको परीक्षण हुन्छ, यसकारण पानीका जल-जन्तुहरू दुःखी र अशान्त छन् । भन्नुको तात्पर्य अग्नि, वायु, जल, पृथ्वी, आकाश सबै देवता अशान्त छन्, तब के पाठ गर्दैमा सबैमा शान्ति आउने छ? आखिर शान्ति कहाँ छ! कस्तो छ!! कसरी मिल्छ!!!

अध्यात्मले नै संसारलाई शान्ति दिन सक्छ । अनेक महापुरुषले यहि कुरा बुझाउदै आएका छन् । पश्चिमका मानिसहरूले बेसीभन्दा बेसी यहाँका मानिसहरुलाई एटम बम बनाउन सिकाउने छन् । जब यहाँका मानिसहरूले पनि बमगोला बनाउन सिक्ने छन्, तब उनीहरुले पनि छिमेकी देशहरूमाथि बम फ्याँकेर उनीहरूलाई मार्ने छन, तर हाम्रो संस्कृति छिमेकीलाई सुख पुयाउने संस्कृति हो । कसैलाई दुख दिनु हाम्रो सिद्धान्त होइन । हाम्रो संस्कृतिले भातृ-प्रेम सिकाउँछ: तर सवाल यो छ कि संसारमा भातृ-प्रेम कसरी हुने छ? ।

सन्त-महात्मा या सज्जन व्यक्तिहरू यहि भन्छन् कि समस्त  मानव जाति एउटै परमपिता परमात्माका सन्तान हुन, यसकारण हामी सबै भाइ-भाइ हौं । तर मानिसहरू अनेक जाति र धर्ममा  बाँडिएका छन् अनि यो अनेक धर्म नै संसारमा लडाई र  विरोधको कारण बनेको छ, यद्यपि हामी देख्छौं कि स्त्री- पुरुष, बच्चा-बूढ़ा, हिन्दू-मुसलमान, गोरो-कालो सबैको आँखाले देख्ने, कानले सन्ने, नाकले सुघ्ने, जिब्रोले चाख्ने र बोल्ने काम नै गर्छ। प्राकतिक या ईश्वरीय नियम सबैको लागि एक छ।  ईश्वर पनि सबैको लागि एक छ। अग्नि, वायु, जल, पृथ्वी, सूर्य, चन्द्रमा पनि सबैको लागि एक छन्, तर धर्मलाई मात्र मनुष्यले किन अनेक सम्झेका छन्।

आजकल त मनुष्यका गुरुहरू नै विचित्र-विचित्रका छन् । कसैले दाह्री पालेर बढ़ाएको छ, कसैले जट्टा पालेको छ, कसैले केश सबै खौरेर लामो टुप्पी राख्नेको छ, बस, यसैलाई धर्म सम्झेर बसेका छन् । असली चीजलाई भूलेर अनि झुटो कुराहरूमा लागेर मानिसले नै मानिसको गला काट्न थाले। जबसम्म जीवले आफूसंग रहने परमेश्वरलाई जानेर उसको भजन-सुमिरण गर्ने छैन केवल शरीरमा आसक्त भएर इन्द्रिहरुलाई सुख पुर्याउन साधनहरू गरिरहने छ, तबसम्म न उसलाई सुख-शान्ति मिल्ने छ न त साँचो धर्मको ज्ञान नै हुने छ। जब भगवानको कृपाले मिलेको मनुष्य शरीरभित्रको आत्मालाई चिन्छ जुन सर्वत्र सबैभिन्न एक समान छ, तब तत्काल मोह- माया सबै प्रकारको भ्रमहरूबाट छुट्छ अनि उसले संसारमा कसैलाई पनि दोषी या शत्रु देख्दैन, सबैलाई आफ्नै आत्मा सम्झेर माया गर्दछ। क्रमश..