सामाजिक सुरक्षामा समेट्न निर्माणसम्बद्ध श्रमिकको माग

प्रकाशित मिति:

सबलपोस्ट/तिलोत्तमा  – निर्माण सम्बद्ध श्रमिक अगुवाहरुले निर्माण क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा ल्याउन अझै लड्नुपर्ने बताएका छन् । सरकारले तामझामका बीच घोषणा गरेको सामाजिक सुरक्षा योजनाले सबैलाई समेट्ने प्रयास गरेपनि अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्न ठूलो चुनौती रहेको उनीहरुको भनाइ छ ।

नेपाल निर्माण सम्बद्ध श्रमिक संघ मंगलापुर इकाईको तेस्रो वार्षिक साधारणसभामा बोल्दै निर्माण क्षेत्रका श्रमिक अगुवाले यस्तो बताएका हुन् । उनीहरुले विदेश पलायन भैरहेको जनशक्तिका कारण निर्माण क्षेत्रमा दक्ष जनशक्ति पाउनै मुस्किल रहेको उल्लेख गर्दै काम गरेको श्रमको मूल्य समयमा नपाउनु पनि अर्को समस्या रहेको उल्लेख गरे । कार्यक्रमको उदघाटन गर्दै संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ओम प्रकाश चौधरीले असंगठीत क्षेत्रलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्न माग गरे ।

“अनौपचारिक क्षेत्रलाई यो योजनाले छुन सकेको छैन, जसका कारण निराशा बढी छ, सरकारले जसरी हुन्छ, असंगठीत मजदूरहरुलाई पनि यसमा समेट्नुपर्छ”–उनले भने । वरिष्ठ उपाध्यक्ष चौधरीले स्वदेशमा रहेको दक्ष जनशक्ति कामका लागि विदेशिएको र यसले एकातर्फ निर्माणको काममा असर गरिरहेको र अर्कोतर्फ आर्थिक समृद्धिको सरकारको नारामा धक्का लागेको बताए । कार्यक्रममा बोल्दै काउनका अर्का वरिष्ठ उपाध्यक्ष सन्जय श्रेष्ठले वैदेशिक रोजगारीमा उर्जाशिल जनशक्ति पठाउने कार्य बन्द गर्नुपर्न बताए । स्वदेशमै रोजगारी सिर्जना गराएर श्रमिकलाई विदेश पठाउने कार्य बन्द गरेमात्र दक्ष कामदारको अभाव नहुने उनको भनाइ छ ।

काउनका केन्द्रीय सदस्य नारायण सुनारले निर्माण श्रमिकहरुलाई श्रमिक कानुनले अझै पनि नसमेटेको उल्लेख गर्दै श्रम कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरे । निर्माण सम्बद्ध श्रमिक संघ –काउन) मंगलापुर इकाईका अध्यक्ष सहश्राम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा काउनका बुटवल इकाइ अध्यक्ष सूर्यदेव दास, नेपाल ट्रेड युनियन काँग्रेसका यकिन खान, काउनका जिल्ला सचिव नरसिंह रावल, मंगलापुर इकाईका सल्लाहकार सुशील घिमिरे, सचिव ताराबहादुर केसी, कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले निर्माण सम्बन्धी कुनै पनि काममा नेपाली कामदारलाई प्राथमिकता दिनुपर्ने, अवैध रूपमा विदेशी ठेकेदार र कामदार भित्रिने क्रम रोक्नुपर्ने लगायतका माग गरेका थिए ।