निलम्बित एसएसपी सौरभ राणाको अनुशन्धानका लागि ५ दिन म्याद

प्रकाशित मिति:

विराटनगर – यौन दुव्र्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ राणा उपरको मुद्दामा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ । एसएसपी राणालाई सरकारी वलिकको कार्यालय इनरुवा मार्फत सोमबार सुनसरी जिल्ला अदालत उपस्थित गराइएको थियो । सरकारी वलिकले १० दिनको म्याद मागेको भएपनि अदालतले ५ दिने म्याद दिएको छ ।

अदालत पुर्याइएका निलम्बित एसएसपी राणा उपरको जबरजस्ती करणीको अभियोगमा प्रहरी अनुसन्धानकालागि जिल्ला न्यायाधिस मणिराम न्यौपानेको इजलासले ५ दिन म्याद थपको आदेश गरेको हो । श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार सौरभ राणा उपरको अभियोगका सम्वन्धमा अदालतबाट प्रहरी नियन्त्रणमा रहने गरी ५ दिने म्यादको आदेश भएको छ ।

म्याद थप गर्नु पूर्व अदालतमा सरकारी वकिल र राणाका तर्फका अधिवक्ताहरुले पक्ष र विपक्षमा म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा आ–आफ्नो तर्क राखेका थिए । अदालत परिषरबाट बाहिरिदैं गर्दा संक्षिप्त प्रतिकृया दिदैं एसएसपी राणाले आफुमाथि लगाइएको आरोप झुटो भएको बताउनुभयो । उहाँले केहिदिन भित्र सबै सत्यतथ्य बाहिर आउने समेत बताउनुभयो ।

म्याद थप पश्चात राणालाई जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको छ । राणालाई प्रहरीले भीआइपी कक्षमा राख्दै आएको छ । अदालतबाट अघिल्लो दिन पक्राउ आदेश जारी भएपनि एसएसपी राणा स्वयं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको बताइएको छ । यौन हिंसाको किटानी जोहेरी पश्चात एसएसपी राणालाई गृह मन्त्रालयले शुक्रबारनै निलम्बन गरिसकेको छ । राणा उपर पीडित महिलाले इटहरीको एक होटलमा आफुमाथि जबरजस्ती करणी गरेको आरोप सहित प्रहरीमा उजुरी दिनुभएको थियो ।