अमेजनका सीईओले मिनेटमै कमाउन्छन ८ अर्ब डलर

प्रकाशित मिति:

विश्वका सबैभन्दा धनी व्यक्तिको रूपमा रहेका अमेजन कम्पनीका सीईओ जेफ बेजोसले गत हप्ता अर्बौ डलर सम्पत्ति थप गरेका छन् । यस्तो चमत्कार उनले कसरी गरे भन्ने विषयमा अहिले विश्व चकित परेको छ । अमेजन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएसँगै बेजोसले यति ठूलो रकम क्षणभरमै आम्दानी गरेका हुन् । शुक्रबार अमेजनको शेयर मूल्य प्रतिशेयर २ हजार डलर पुगेको थियो । बिहीबार आफ्नो त्रैमासिक आम्दानी रिपोर्ट सार्वजनिक गरेको अमेजनले विश्लेषकहरूको अनुमानलाई फेल खुवाएको छ । कम्पनीले उच्च मुनाफा आर्जन गर्न सफल भएको रिपोर्ट सार्वजनिक भएसँगै शुक्रबार अमेजनको शेयर मूल्यमा बढोत्तरी भएको हो ।

यो सँगै अमेजन शुक्रबार पुनः १ ट्रिलियन डलरको कम्पनी बन्न सफल भयो । यसअघि सन् २०१८ मा अमेजन पहिलोपटक १ ट्रिलियन डलरको कम्पनी बनेको थियो । नम्वर वान अर्बपति बेजोसको कुल सम्पत्तिमध्ये अधिकांश हिस्सा अमेजनको शेयरकै रूपमा रहेको छ । उनको नाममा कम्पनीको ५ करोड ७५ लाख कित्ता शेयर छ, जुन कम्पनीको १२ प्रतिशत हो । यस अनुसार, शुक्रबार बेजोसको कुल सम्पत्ति १ खर्ब २४ अर्ब डलर पुगेको थियो जसमध्ये अमेजनको शेयरबापतको मूल्य १ खर्ब १५ अर्ब ६० करोड डलर थियो ।

कसरी भयो अमेजनको सुरुवात ? जेफ बेजोसले सन् १९९४ मा अमेजनको सुरुवात गरेका थिए । जुन अहिले विश्वकै पहिलो खरब डलरको कम्पनी बन्नेतर्फ अघि बढिरहेको छ । यस्तो कम्पनी जसले कुनैबेला पुराना किताब बेच्दथ्यो तर अहिले लगभग सबै खालका सामानमा उसको पहुँच छ । र, यसका मालिक जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । यद्यपि, उनको लक्ष्य अझै ठूलो छ ।

उनको कल्पना केवल जमिन र आकाशसम्म मात्र होइन, त्यसमाथि अन्तरीक्षसम्मै पुगेको छ । उनले सन् २०१३ मा वाशिङटन पोष्ट खरीद गरे र त्यसअघि सन् २००४ मा ब्लु ओरिजिन नामको अन्तरीक्षसम्बन्धी कम्पनी एरोस्पेसको स्थापना गरेका थिए । यो कम्पनीले आगामी वर्ष अन्तरीक्ष यात्राका लागि टिकट बेच्ने योजना बनाइरहेको छ । एक वर्षअघि जेफ बेजोसकी श्रीमतीले भनेकी थिइन् कि बेजोस आफ्नो भाग्य आफैं लेख्ने मध्येका एक मानिस हुन् । यो केवल पैसाको बारेमा होइन । भविष्य बदल्नका लागि पैसाको उपयोग गर्ने विषय हो ।

स्पेस कोलोनीको कल्पना – जेफ बेजोसको महत्वाकांक्षा कहाँसम्म हुनसक्छ भन्ने कुराको अनुमान दशकौँ पहिले हुन थालेको थियो । जेफको जन्म सन् १९६४ को जनवरी १२ मा न्यु मेक्सिकोको अबलुकर्कमा भएको थियो । उनकी आमाको नाम ज्याकी जरगन्सन र बुवाको नाम टेड जर्गन्सन हो । ज्याकीले १७ वर्षको उमेरमा जेफलाई जन्म दिएकी थिइन् । तर जेफ जन्मिएको १ वर्षपछि नै उनका बुवाआमाको डिभोर्स भयो । उनी आफ्नी आमा र सौतेलो बुवा माइक बेजोससँगै टेक्सास र फ्लोरिडामा हुर्किए । जेफ बेजोसका बारेमा ब्रेड स्टोनले सन् २०१३ मा लेखेको बायोग्राफीका अनुसार ३ वर्षको उमेरदेखि नै जेफ बेजोसको झुकाव विज्ञान तथा इन्जिनियरिङमा देखिएको थियो । हाइस्कुल पूरा गरेको अवसरमा उनले दिएको भाषणमा त उनले अन्तरीक्षमा मानव वस्ती अर्थात् कोलोनी बनाउने कल्पना गरेका थिए ।

सन् १९८६ मा उनले प्रिन्स्टन विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरे । त्यसपछि उनले न्युयोर्कमा एक वित्तीय कम्पनीमा काम गरे । त्यसक्रममा उनको भेट मेकेन्जी नामक युवतीसँग भयो । उनैसँग बेजोसको बिहे भयो । मेकेन्जी एक उपन्यासकार हुन् । इन्जिनियरिङ तथा विज्ञानतर्फको उनको झुकाव, कल्पना तथा महत्वाकांक्षाले नै उनलाई अमेजनको सुरुवाततर्फ डोरायो ।

जागिर छाडेर अमेजन – इन्टरनेटको बढ्दो पहुँच देखेका बेजोसले ३० वर्षको उमेरमा वित्तिय कम्पनीको जागिर छाडे । त्यसपछि उनले इ कमर्श कम्पनी अमेजनको स्थापना गरे । त्यसमा उनले आफ्नो निजी पैसा तथा परिवारको सहयोग गरी १ लाख डलर लगानी गरे । कम्पनी छिटै नै उनको विश्वासमा खरो उत्रिन सफल भयो ।अमेजनको सुरुवात उनले एक ग्यारेजबाट पुराना किताब बेच्ने अवधारणासँगै गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेजनमाथि आरोप लगाउँदै उसले युएस पोर्टल सर्भिसको निकै कम दरको अनावश्यक फाइदा उठाइरहेको बताउँछन् ।

ब्रेड स्टोनको किताब ‘द एभ्रिथिंग स्टोरः जेफ बेजोस एण्ड द एज अफ अमेजन’ का अनुसार सन् १९९५ मा अमेजनको सुरुवात भएसँगै एक महिना भित्रैमा यसले अमेरिकाका ५० राज्य तथा विभिन्न ४५ वटा देशबाट सामानको अर्डर लिएको थियो । पहिलो पाँच वर्षमा अमेजनका ग्राहकको संख्या एक लाख ८० हजारले बढेर एक करोड १७ लाख पुग्यो । यसको बिक्रि ५ लाख ११ हजार डलरबाट बढेर १।६ अर्ब डलर भयो ।त्यो सँगै कम्पनीमा ठूला ठूला लगानीकर्ता आउन थाले । सन् १९९७ मा अमेजन पब्लिक कम्पनीको रुपमा गयो । अन्ततः हेर्दा हेर्दै ३५ वर्षको उमेर भित्रै बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । सन् १९९९ मा टाइम म्यागेजिनले उनलाई किंग अफ साइबर कमर्स घोषणा गरेको थियो ।

नयाँ प्रविधि र प्रयोगसँग उनी डराउँदैनन् – जेफ बेजोस नयाँ प्रयोग गर्न तथा पैसा कमाउनका लागि लगानी गर्ने कुरासँग डराउँदैनन् । निशुल्क डेलिभरी, छुट तथा किन्डल इ रिडर जस्ता डिभाइस विकसित गर्नका लागि उनले वर्षौँ लगाए । तर सम्भव भएसम्म अमेजन बचत गर्नपनि पछि हट्दैन ।

मूख्यालयमा बस्ने कर्मचारीहरुसँग पार्किङको शुल्क लिने, आपूर्तिकर्ताहरुसँग लड्ने, आफ्नो गोदाममा श्रमिक संघको स्थापनाको विरोध गर्ने र सकेसम्म कम कर तिर्ने । अमेजनले गरेका केही सुरुवाती लगानीहरु जस्ते पेट्स डट कममा उसलाई घाटा समेत भयो । तर नयाँ उद्यमका लागि बेजोसको भोक मरेन । गतवर्ष अमेजनले होल फुड्स खरीद गर्यो । साथै यो वर्ष एक औषधि बिक्रेता कम्पनी पनि किन्यो ।

अमेजनले यस वर्ष सन् २०१८ को तिन महिनामा ५३ अर्ब डलरको बिक्रि गरेको थियो र त्यसबाट अढाइ अर्ब डलर मुनाफा कमायो । जुन किर्तिमानी मुनाफा हो । अमेजनमा कूल ५ लाख ७५ हजार कर्मचारी काम गर्दछन् । यो भनेको लक्जेम्बर्गको पूरै जनसंख्या भन्दापनि बढि हो ।अमेजनले हजारौँ तेस्रो स्तरीय कारोबारीहरुलाई लजिस्टिक्स, भण्डारण, ऋण तथा बिक्रिका लागि प्लाटफर्मको सुविधा पनि प्रदान गर्दछ ।

खतरा उनको लागि खेल हो – यद्यपि, अमेजनको बजारमा एकाधिकारको खतरा, कर छली तथा श्रम कानूनको पालना नभएको विषयलाई लिएर आलोचना पनि हुने गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेजनमाथि आरोप लगाउँदै उसले युएस पोर्टल सर्भिसको निकै कम दरको अनावश्यक फाइदा उठाइरहेको बताउँछन् । यस्ता खतराका बाबजुत बेजोस आफ्नो निर्णय र कार्यसँग सधैं दृण छन् । उनलाई खतरा खेलजस्तै लाग्छ । पछिल्ला दिनहरुमा ट्विटरमा निकै सक्रिय भैरहेका छन् । उनले आफ्ना आमाबुवा र कुकुरको भिडियो पनि शेयर गर्दछन् । विभिन्न अन्तराष्ट्रिय समाचारमाध्यमको सहयोगमा