परीक्षा बोर्डको लापरवाही : व्यवस्थापनको परीक्षा दिँदा विज्ञान संकायको नतिजा, दिएको परीक्षा गायब !

प्रकाशित मिति:

असोज २३, २०७५ जनकपुरधाम – राष्ट्रिय परीक्षा बोर्डको गम्भीर लापरवाहीका कारण एउटा विद्यार्थीको भविष्य नै अन्योलमा परेको छ ।

जनकपुरधामका विद्यार्थीले ११ कक्षाको व्यवस्थापन संकायमा जाँच दिएको भएपनि परीक्षाफल भने विज्ञान संकायमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित राजर्षि जनक उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी सुमितकुमार मिश्राले आवेदन फारम, परीक्षा फारम व्यवस्थापन संकायमा भरेका थिए । परीक्षा पनि वाणिज्य संकायकै सबै विषयको दिएका थिए । तर, परीक्षाफल प्रकाशित भएपछि उनको परिणाम वाणिज्य संकायमा आएन, विज्ञान संकायमा आयो ।

परीक्षाको प्रकाशित परिणाम अनुसार अनिवार्य अंग्रेजी विषयमा ‘डी’ ग्रेड आएको र बाँकी विषय फिजिक्स, केमेस्ट्री, बायोलोजीको सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा अनुपस्थित रहेको तथा गणित विषयमा समेत अनुपस्थित रहेको नतिजा आएको छ ।

विद्यार्थी मिश्रले लोकान्तरसँग भने, ‘मैले ११ कक्षाको ५ वटै विषयको परीक्षा वाणिज्य संकाय अन्तर्गत दिएको थिएँ । तर, मेरो परीक्षाको परिणाम भने विज्ञान संकायतर्फ आएको छ ।’

रजिस्ट्रेसन नम्बर ७५१७१३८४३ रहेका सुमितले प्रकाशित परीक्षाफल देखाउँदै भने, ‘मैले वाणिज्य संकाय अन्तर्गत अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली, अर्थशास्त्र, एकाउन्ट र कम्प्यूटरसहित ५ वटै विषयको परीक्षा दिएको थिएँ । तर, व्यवस्थापन संकायमा नभएर विज्ञान संकायमा जो कि मेरो संकाय नै होइन, त्यसमा नतिजा निकालिएको छ ।’

‘मैले पढेको राजर्षि जनक क्याम्पसमा रजिस्ट्रेसनको आवेदन फारम भर्दा, ११ कक्षाको परीक्षा फारम भर्दा समेत व्यवस्थापन संकायकै ती विषयहरू उल्लेख गरेर आवेदन फारम भरेको थिएँ । तर, परीक्षाको परिणाम कसरी विज्ञान संकायमा आयो ?’ पीडित विद्यार्थी सुमितले भने ।

विज्ञान विषयको ४ वटा विषयमा अनुपस्थित भनिएको छ र अंग्रेजी विषयमा ‘डी’ ग्रेड दिइएको छ । सुमितको सिम्बोल नम्बर ११७०२७४० हो ।

राजर्षि जनक क्याम्पसका व्यवस्थापक सन्जीव ठाकुरले त्रुटिमा आफ्नो क्याम्पसको कुनै लापरबाही नभएर राष्ट्रिय परीक्षा बोर्डकै लापरवाही रहेको बताए । ‘हामीले पठाएको रजिस्ट्रेसन फारम, परीक्षा फारममा समेत सुमितको व्यवस्थापन संकायमै फारम भरेर पठाएका थियौं,’ उनले भने, ‘त्यसपछि राष्ट्रिय परीक्षा बोर्डले पनि रुजु गरेर फिर्ता पठाएको अभिलेख र परीक्षा केन्द्रका लागि पठाउने अभिलेखमा समेत व्यवस्थापन संकायकै अभिलेख समेत रहेकाले हाम्रो क्याम्पसको कुनै पनि लापरवाही नभएर परीक्षा बोर्डकै गम्भीर लापरवाही देखिएको छ ।’

त्रुटि नसच्याए भविष्य अन्धकार हुने र १ वर्ष समय खेर जाने भएकाले परीक्षा बोर्डले त्रुटि सच्याइदिनुपर्ने विद्यार्थी सुमितले बताए ।

@लोकान्तर