काठमाडौं/अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा गैरकानूनी रूपमा किनेर गैरआवासीय नेपाली संघ एनआएरएन ले बनाएको केन्द्रीय कार्यालय भवन जफत गरी कारवाही गर्न सिफारिस गरेको छ।बुधबार अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरी सरकारी जग्गामा निर्माण भएको एनआरएनको घर खाली गर्न अटेर गरेको भन्दै सरकारी जग्गा कब्जा गरेको कसुरमा एनआरएनलाई कारवाही गर्न सिफारिस गरेको हो।
‘भ्रष्टचार निवारण ऐन २०५९ अनुसार कुनै कसुर गरेको नदेखियतापनि सरकारी सार्वजनिक जग्गा हाल निजको नाममा देखिएको र आयोग समक्ष गरेको बयानमा समेत उक्त जग्गा सरकारको नाममा छाड्न तयार नभएको हुँदा भ्रष्टचार निवारण ऐनको दफा ८ को उपदफा ४ र दफा ४७ अनुसार उक्त जग्गा जफत गरी सरकारी नाममा ल्याउन मागदाबी समेत लिने’ अख्तियारको आरोप पत्रमा भनिएको छ।बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गैरकानूनी रुपमा नामसारी गर्ने क्रममा एनआएरएनले पनि आफ्नो नाममा सारेको थियो। अख्तियारले बालुवाटार जग्गा प्रकरणका चार पूर्वमन्त्रीसहित १७५ जनाविरूद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।