रामवीरले बामदेवका लागि गरे बाटो खाली

प्रकाशित मिति:

काठमाडौं । अन्तत नेकपाका नेता बामदेव गौतमलाई संघियसंसदमा पुग्न बाटो खुलाउन काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

बिभिन्न फरक फरक ठाउँमा सांसदहरुले राजिनामा दिने हल्ला चलेको भए पनि गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन उनले राजीनामा घोषणा गरेका हुन् । आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा नेता मानन्धरले बुधबार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने स्पष्ट पारे ।

उनले आफ्नो चुनाव क्षेत्रमा वामदेव गौतमले उपनिर्वाचन नहार्ने पनि दावी गरे, पार्टीको बलियो संगठन रहेको र काठमाडौं ७ मा २० वर्ष अगाडिदेखि आफुले चुनाव जित्दै आएको उनले बताए । ‘अबको निर्वाचनमा पनि जित्ने आधार भनेकै आफूले २० वर्षदेखि चुनाव जित्नु रहेको भन्दै मानन्धरले उपनिर्वाचनमा निराश हुनुपर्ने अवस्था छैन ‘। उनले थपे ‘म २०४९ सालमा पार्टीको तर्फबाट वडाध्यक्ष जितेको हुँ । ०७० सालमा सांसद भएको हुँ र अहिले ०७४ सालमा पनि सांसद भएको हुँ ।’

उनलाई पार्टीले राष्ट्रिय सभामा लैजाने चर्चा समेत छ । त्यस सन्दर्भमा उनले भने ‘पार्टीको निर्णय अनुसार अगाडि बढ्ने भएकाले राजीनामा दिँदा कत्ति पनि दुखित नभएको भन्दै उनले पार्टीले चाहेको खण्डमा आफू मन्त्रीसम्म हुन सक्छु ,राष्ट्रिय सभामा हुनु नहुनु पार्टीको निर्णय हो । पार्टीले निर्णय गर्छ भने दुई वर्षका लागि होइन ६ वर्षका लागि पनि हुन सक्छ । मन्त्री पनि हुन सक्छु’, ।

बामदेवको संसदमा उपस्थितिकाृ आवश्यकता भएको भन्दै उनले भने’ जनताको अपेक्षा भनेको विकास निर्माण हो । शान्ति र अमनचयनको कुरा छ’, उनले थपे, ‘गत निर्वाचनमा वामदेवजीको सक्रियतामा झण्डै दुई तिहाइ प्राप्त भयो । र अहिले त्यो मान्छेको खोजी भयो ।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतामा महत्वपूर्ण भूमीका खेलेका नेता गौतमको संसदमा उपस्थिति अनिवार्य भएको उनको भनाई छ । ‘पार्टी एकता गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति कम्तीमा पनि संसदमा भयो भने, सहज हुन्छ र विकास निर्माणका लागि सहजता हुन्छ भन्ने हो ।’