पाँच वर्ष जम्मा ११ किलोमिटर मात्र सडक कालोपत्रे !

प्रकाशित मिति:

गोरखा  –  मध्यपहाडी लोकमार्गको प्रगति गोरखामा निराशाजनक देखिएको छ । राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको निर्माण सुरु भएको ५ वर्षमा जम्मा ११ किलोमिटर मात्र सडक कालोपत्रे भएको छ । २०७१ साल पुस ३ गते कार्यालय स्थापना गरी उक्त सडक निर्माण सुरु गरिएको थियो । हालसम्म आरुघाट–ओख्ले खण्डमा ४ र चेपे–ठाँटीपोखरी खण्डमा ७ किलोमिटर सडक मात्र कालोपत्रे भएको आयोजना कार्यालयले जनाएको छ । ‘हाम्रो साइडबाट सक्दो मेहनतगरिरहेका छौं तर सोचे जस्तो प्रगति भएको छैन’ आयोजना प्रमुख रमेशकुमार दृष्टिले भन्नुभयो – ‘प्रोगेस राम्रो नहुनुमा निर्माण व्यवसायी साथीहरू नै बढि दोषि देखिनुहुन्छ ।’

आरुघाटस्थित बुढीगण्डकी नदीमा रहेको पुलदेखि पालुङटारको चेपेनदी पुलसम्म, ६४ किलोमिटर मध्यपहाडी लोकमार्गमा पर्छ । हाल तीन खण्डमा काम भइरहेको छ । निबेल देखि ठाँटीपोखरीसम्मको २८ किलोमिटर सडकखण्डको भने अहिलेसम्म ठेक्का समेत लाग्न सकेको छैन । पालुङटार–१ खोप्लाङमा रहेको सामुदायिक वनका उपभोक्ताहरुले मुद्धा हालेपछि उक्त खण्डमा लामो समयदेखि विवादित छ ।

मध्यपहाडी लोकमार्ग निर्माण हुन पहिले नै खनिएको उक्त सडकमा मुद्दा परेपछि स्तर उन्नती समेत हुन सकेको थिएन । ‘हामीले उक्त खण्डको डिपिआर तयार गरिसकेका छौं’ उहाँले भन्नुभयो ‘ठेक्का लगाउने काम आयोजना निर्देशनालयको हो । मैले पाएको जानकारी अनुसार बोलपत्र आब्हानको तयारी भइहरेको छ । छिट्टै ठेक्का निस्किन्छ ।’ अहिले भइरहेका तीन वटा खण्डको काम छिट्टो सक्न आफू लागि परेको उहाँले जानकारी दिनुभयो ।

आरुघाटको पुलबाट तान्द्राङको ओख्लेसम्म १३.५ किलोमिटर सडक खण्डमा ७० प्रतिशत काम सम्पन्न भएको छ । रसुवा ईलाइट सूर्य जेभिले निर्माणको जिम्मा लिएको त्यहाँ चार किलोमिटर सडक यस अघि नै कालोपत्रे भइसकेको छ । बाँकी ७.५ किलोमिटर सडक भने अलपत्र परेको छ । ३.३ किलोमिटर सडक भने बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने भएकाले काम स्थगित गरिएको छ ।

‘डुबान क्षेत्रमा पर्ने ३.३ किमिमा काम भएको थिएन’ दृष्टिले भन्नुभयोे ‘बुढीगण्डकी बन्न टाइम लाग्ने भएकाले उक्त सडक पनि बनाउनु पर्छ भन्ने कुरा आएको छ । त्यसको लागि हामी पनि तयार नै छौं ।’ उक्त खण्डका लागि २५ करोड ४२ लाख बजेट बिनियोजन गरिएको छ । समयसिमा भित्र काम सम्पन्न नभएपछि अहिले म्याद थपको प्रक्रिया पनि सुरु भएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी ओख्लेदेखि निबेल खण्डको आधा काम पनि सम्पन्न नहुँदै म्याद सकिएको छ । ‘उक्त खण्डको २०७६ कार्तिक ४ गते म्याद सकिएको हो ।

सडक क्षेत्रमा पर्ने घर टहरा नहटाएका कारण त्यहाँ टाइममा काम हुन सकेन’ उहाँले भन्नुभयो ‘सार्वजानिक खरिद ऐनको नवौं संशोधन अनुसार अहिले म्याद थपको प्रक्रियामा गएको छ । म्याद थप हुने बित्तिकै समन्वय गरेर उहाँहरुलाई काम गर्ने वातावरण मिलाउँछौं ।’ एपि/इसिसि/एससिएफ जेभि निमार्ण कम्पनीले निर्माणको जिम्मा पाएकोे १६ किलोमिटर सडका लागि ३२ करोड ९१ लाख बजेट बिनियोजन गरिएको छ ।

उक्त खण्डमा गत वर्ष कुनै पनि प्रगति हासिल हुन नसकेको आयोजना कार्यालयका कर्मचारीले बताएका छन् । सो खण्डमा एउटा मोटरेवल पुल समेत निर्माण भइरहेको छ । सूर्य रबिन जेभिले ७ करोड ७९ लाख लागतमा निर्माण गरिहेकोे जराङखोला पुलको ८५ प्रतिशत काम सकिएको छ । ३० मिटर लम्बाई र ११ मिटर चौडाईको उक्त पुल चालु आर्थिक वर्षको असार मसान्त भित्र सम्पन्न हुने उहाँले बताउनुभयो ।

त्यस्तै पालुङटार देखि चेपे पुलसम्मको ७ किलोमिटर सडक भने कालोपत्रे भएको छ । ३५ करोड ४४ लाख लागतमा ठाँटीपोखरी–पाउदी खण्डको १६ किलोमिटर मध्ये गोरखा भित्र पर्ने ७ किलोमिटरमा गत आर्थिक वर्षमा नै कालोपत्रे गरिएको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डमा दुई वटा मोटरेवल पुल भने निर्माण सम्पन्न भएको छैन । ‘शान्ति निर्माण सेवाले निर्माण गरिहेको मिर्दिखोला पुलमा ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । नाना कन्स्ट्रसनले जिम्मा लिएको बोहरे खोलामा पुलमा भने ३५ प्रतिशत मात्र काम भएको देखिन्छ’ आयोजना प्रमुख दृष्टिले भन्नुभयो ‘अहिले काम धमाधम भइरहेको छ । २ महिना भित्र उक्त दुबै पुल बनिसक्छ ।’ मिद्र्धि खोला पुल २ करोड ९५ लाख र बोहरेखोला पुल ३ करोड २१ लाख लागतमा ठेक्का सम्झौता भएको थियोे । दुबै पुलको लम्बाई २० मिटर र चौडाई ११ मिटर छ ।

पाँचथरको चियोभञ्जाङ देखि बैतडीको झुलाघाटसम्म १ हजार ७५० किलोमिटरको उक्त सडक लम्जुङसँगको सिमाना चेपेबाट–पालुङटार–निबेल–घ्याम्पेसाल–आरुघाट हुँदै बुढीगण्डकीबाट धादिङ जोडिने छ । राष्ट्रिय गौरवको यो सडकले नेपालको समृद्धि र बिकासमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ । – गोरखापत्र