बजार घट्न थालेपछि शेयर किन्न हच्किए लगानीकर्ता

प्रकाशित मिति:

काठमाडौं – केही दिनदेखि करेक्सन भइरहेको शेयर बजारमा कारोबार रकम बिस्तारै घट्न थालेको छ। एक साता अगाडि दुई अर्बमाथिको कारोबार हुँदै आएकोमा पछिल्लो दिनमा घट्न थालेको हो। साताको अन्तिम दिन दोस्रो बजारमा एक अर्ब चार करोड रुपैयाँको कारोबार भएको छ। नेप्से सूचक ८.६७ अंकले गिरावट भएर १३३३.६९ अंकमा रोकिएको हो। एक सातामा शेयर बजार १० अंकले गिरावट भएको छ। कारोबार सुरु भएको केही समय सुधार देखिएको बजार एक घण्टापछि नै घट्न थालेको थियो।

उत्पादन मुलक कम्पनी र जीवन बीमाको सूचकमा सुधार देखिए पनि बाँकी सूचक तथा उपसूचक घटेका छन्। बिहीबार सबैभन्दा धेरै गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको चार करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ। तीनवटा कम्पनीको शेयर मूल्यमा अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। ग्रिन डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै बढेको हो। नेपाल फाइनान्सको शेयर भने घट्दो क्रममा सर्किट लागेको छ।

भइरहेकै लगानीकर्ताहरुले पोर्टफेलियो परिवर्तन गर्दै शेयर खरिद बिक्री गरिरहेका छन्। बजार लगातार सुधार भएको अवस्थामा उनिहरुलाई खासै असर गर्देन तर केही घट्ने संकेत देखिने बित्तिकै उनिहरु बिक्री गर्न थाल्छन्। बाठा लगानीकर्ताहरुले बजार धेरै सुधार भयो भन्ने बित्तिकै बिक्री गर्न थाल्छन्। तर बजारमा खासै अभ्यस्त नभएका लगानीकर्ता भने खरिद गर्न थाल्छन्। त्यस्तै अहिले बजार घट्न थाल्दा हिजोका दिनमा शेयर बिक्री गर्नेहरु नै खरिद गर्न थाल्छन्। किनेको शेयर बिक्री गरेर सेटल गर्ने र बिक्री भएपछि पैसा आउने अपेक्षामा अर्को शेयर खरिद गर्नेहरु हाबी छन्।