चीन सरकारलाई नेपाल सरकारले एक लाख मास्क दिने

प्रकाशित मिति:

काठमाडौं – नेपाल सरकारले एक लाख मास्क चीन सरकारलाई उपलब्ध गराउने भएको छ । वुहानबाट फैलिएको कोरोना भाइरसले चीन आक्रान्त भइरहेका बेला सावधानी अपनाउन नेपाल सरकारले तत्काल एक लाख मास्क उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई बालुवाटारमा बोलाएर निर्देशन पनि दिएका छन् ।

“कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति कार्ययोजनाअनुरूप तयारीमा जुट्न लाई निर्देशनसमेत दिनुभएको हो,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “बालुवाटारमा उपप्रधान तथा र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरू सहितको विशेष बैठकमा प्रधानमन्त्रीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्द रूपमा सम्पन्न गर्न ध्यानाकर्षण गर्नुभएको छ ।”

चीनबाट उद्धार गरी ल्याइने नागरिकलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा राख्ने तयारी भएको थापाको भनाइ छ । “क्वारेन्टाइनस्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन समेत उहाँले बैठकमा निर्देशन गर्नुभयो,” उनले भने, “सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गर्नुभयो भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराउनुभयो । नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय नेपालले गरेको छ ।”