आयआर्जनमा सहकारीको भुमिका महत्वपूर्ण

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल/स्याङ्जा -वालिङ नगरपालिका २ छप्राक गाँउमा एक बर्ष अगाडी स्थापना गरिएको सिद्धबाबा श्रमिक महिला सहकारीले पहिलो साधरण सभा सम्पन्न गरेको छ । वालिङ नगरपालिकाका नगर उपप्रमुख कल्पना तिवारीले साधरणसभाको उद्घाटन गर्दै महिलाहरुको आयआर्जनमा सहकारीको भुमिका महत्वपूर्ण रहेको बताईन् । दलित समुदाय मात्रै मिलेर संचालन गरिएको सहकारीले कृषि र पशुमा लगानी गरेर यहाँको आयआर्जनमा टेवा पुग्ने काम गरेको नगर उपप्रमुख तिवारीको भनाई थियो । सबै श्रम गरेर नै जिविकोपार्जन गरेका छन् नगर उपप्रमुख तिवारीले भनीन्,“श्रमबाट नै जिवन बदलिने, परिवर्तन हुन्छ यसको निरनतरता हुनुपर्छ ।” यो सहकारीले नाम जस्तै काम गरेको आफुले पाएको उनले बताईन् । सहकारीको माध्यमबाट यो बस्तीले फाईदा उठाउनु आवश्यक रहेको नगर उपप्रमुख तिवारीको सुझाव थियो ।

सहकारीबाटै समृद्धि हासिल गर्न सक्छ भन्ने सोचाई नगरपालिकाको रहेको छ उपप्रमुख तिवारीले भनिन्,“सबै नगरवासीलाई सहकारीमा आवद्धता गराएर कृषि क्षेत्रको विकास गर्नुपर्छ ।” जग्गाजमिन बाझो राखेर नगरपालिकाको समृद्धि हासिल नहुने उनले बताईन् । कार्यक्रममा जिल्ला सहकारी संघ अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीहरु नाफा मुखी भन्दा पनि आयमुलक हुनुपर्ने जिकिर गरे । भावी पुस्ताका लागि आजैदेखि कृषिमा आत्मनिर्भर भएर अगाडी बढ्न सबै शेयर सदस्यहरुलाई पौडेलले आग्रह गरे । पहिलो साधरणसभामा वालिङ नगरपालिका १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्ले, वाड नम्वर २ का अध्यक्ष पोतप्रसाद लम्साल, समाजसेवी जमानसिंह नेपाली, डिलबहादुर श्रेष्ठ लगायतका बक्ताहरुले ग्रामिण क्षेत्रमा सहकारी संचालन गरेर यो क्षेत्रको आयआर्जनमा टेवा पुग्ने काम सहकारीले गर्न थालेको बताएका थिए । सिद्धबाबा श्रमिक महिला सहकारी संस्थाका अध्यक्ष सुनिता नेपालीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन सभाको स्वागत सचिव अनुसा सिंजाली र संचालन कृष्ण नेपालीले गरेका थिए । १४० जना शेयर सदस्य रहेको सहकारीले २ लाख १३ हजार ७ सय ८४ निक्षेप, ९५ हजार १ सय शेयर पुजी र २ लाख ५९ हजार २ सय २९ लगानी गरि ४ हजार ३ सय ५९ आम्दानी गर्न सफल भएको सहकारीले जनाएको छ । छोटो अवधीमा सहकारीले मुनाफा कमाउन मात्रै नभएर यो बस्तीमा बचत गर्ने बानीको विकास भएको स्थानीयको भनाई छ ।