विद्यार्थीलाई तरकारी खेती तालिम प्रदान

प्रकाशित मिति:

गल्याङ्/स्याङजाको गल्याङ नगरपालिका– ३ स्थित गल्याङ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई अदुवा खेती तथा तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ । जी.एम.सी कृषि तथा पशुपालन समुहको आयोजनामा विद्यार्थीलाई तालिम प्रदान गरिएको हो । क्याम्पसको सभाहलमा सुरु भएको तालिममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले कृषि क्षेत्रमा नगरपालिकाले सफलता हात पार्दे गएको बताए । उनले आर्थिक समृद्धिका लागि कृषि अपरिहार्य रहेको भन्दै कृषि क्षेत्रमा युवाहरुको आर्कषण बढ्नु राम्रो पक्ष भएको बताए ।

नगर प्रमुख अधिकारीले कृषि क्षेत्रको बारेमा विद्यार्थीलाई ज्ञान सीप प्रदान गर्न सकियो भने उनीहरुबाट अन्य व्यक्तिमा सीप हस्तान्तरण हुने बताए । कृषि तर्फ विद्यार्थीको रुचि बढ्दै गएकोमा आफुलाई खुशी लागेको बताउदै कृषिमुलक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिन उनले सुझाव दिए । तालिममा गल्याङ बहुमुखी क्याम्पसमा अध्ययनरत १२५ जना विद्यार्थीको सहभागिता थियो ।
भने तालिममा गल्याङ नगरपालिका कृषि शाखाका प्रमुख शिव ढकाल, अदुवा विशेषज्ञ शिव न्यौपानेले सहजिकरण गरेका छन् । तालिम भोलि समापन हुने छ । जी.एम.सी कृषि तथा पशुपालन समुहका अध्यक्ष शिव भट्टराईको सभापतित्वमा भएको तालिमको सञ्चालन सचिव सुर्य बहादुर धमेल (सुमित) ले गरेका थिए ।