आर्सेनिकयूक्त खानेपानी पिउन बाध्य

२४ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


डा.रामदेव पण्डित – अहिले विश्व राजनीतिको एउटा बिषय पानी पनि हुने गरेको छ । नेपालले त्यस स्तरबाट केही सोच्न र गर्न त भ्याएको छैन। नेपालसँग भएकै खानेपानीको उचित रूपमा व्यवस्थापन हुन नसकेको कुरा जग जाहेर छ । यहाँ पहाडका नागरीकहरूलाई भौगोलिक विकटताका कारण आधारभुत खानेपानी पु¥याउन कठिन भईरहेको छ । तराईका जनतासँग खानेपानिको उपल्बधता त छ तर उपल्बध पानी पिउन लायकको छैन । तराईका अधिकांश हृेयान्डपम्प जाँच गर्दा अधिकांशमा अधिक अधिक आर्सेनिक भेटिएको छ । यसरी आर्सेनिक युक्त पानी कुनैपनि हिसाबले शरीरमा प्रवेश गराउन हुन्न । आर्सेनिक बिष हो । आर्सेनिकले शरीरमा घातक रोगहरू सजिलै निम्त्याउछ । क्यानसर, किडनी रोगहरू, छालाहरू, तराईका जनतामा बढ्दै जानुमा पानी प्रमुख समस्याको रूपमा लिन सकिन्छ । यस बियमा सजग नबने तराईमा खानेपानीले घर घरमा रोगी उत्पन्न हुनेछ । तराई मधेश रोगी बन्नेछ । आर्सेनिक युक्त पानि जनावरलाई समेत खुवाउन हुँदैन । कपडा सफा गर्दा आर्सेनिकका कारण कपडा पहेलो हुने र भाँडाकुडाँमा पहेँलो दाग बस्ने हुन्छ । आर्सेनिकयुक्त पानीको प्रयोगका कारण शरीरमा सजिलै पत्थरीको समस्या देखापर्छ । ५० पिपिवी भन्दा बढी आर्सेनिक भएको पानी स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो पानीको प्रयोगले गर्भवती महिलामा क्यान्सरको समस्या र त्यस्तो पानीको लगातार प्रयोगले आर्सेर्कोसिस भन्ने रोग लाग्दछ । आर्सेनिकयुक्त पानी लामो समय खाँदा मन्द विष झै छालाका रोग लाग्छ । त्यस्तो पानीले छाला, कलेजोको सिरोसिस, मुटु (उच्च रक्तचाप) र श्वासप्रश्वास सम्बन्धी रोगको लाग्दछ । आर्सेनिकयुक्त पानी खाँदा शरीरको जुनसुकै अंगलाई हानी पुग्न सक्छ । शुरूमा छाला कालो हुन्छ ।

हत्केला र पैतलामा खस्रो खालको दाना आउँछ । नङ् फुट्ने, सेतो हुने समस्या आउँछ । अन्तिम अवस्थामा विभिन्न प्रकारका क्यान्सरको विकास हुन्छ । तराईवासीहरू स्वास्थ्यको दृष्टिले ‘मन्द विष रहेको आर्सेनिक युक्त पानी पिउन बाध्य छन् ।नेपालको संविधान २०७२ मा नागरिकले स्वच्छ पानी पिउन पाउनुपर्ने कुरा उल्लेख गरिएको छ । तर अझैसम्म पनि नागरिक आधारभूत खानेपानीबाट वञ्चित छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार अहिलेसम्म ८८ प्रतिशत नागरिकका घरमा आधारभूत सेवा स्तरको खानेपानीको पहुँच पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको जनसङ्ख्या २ करोड ९८ लाखभन्दा बढी छ । यो जनसङ्ख्याको १२ प्रतिशत अर्थात् २४ लाख ८८ हजारभन्दा बढी नागरिक आधारभूत खानेपानी सेवाबाट वञ्चित रहेको छ । आधा घण्टामा पानीको स्रोतमा पुगेर घरमा फर्किन सक्ने अवस्थालाई नेपाल सरकारले आधारभूत सेवा स्तरका खानेपानी भन्ने गरिएको छ । आफ्नै घरमा निजी धाराका रूपमा स्वच्छ पानी छ भने उच्च तथा मध्यम स्तरको सेवाको खानेपानी भनिन्छ । अहिले नेपालमा मात्र २० प्रतिशत नागरिकमा उच्च तथा मध्यम स्तरको खानेपानीको पहुँच रहेको छ । सन् २०३० सम्ममा ९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी अर्थात सीधै धाराबाट थापेर खान मिल्ने स्वाच्छ खानेपानी पुर्याउने लक्ष्य छ ।मानव शरीरको करिब ६० देखि ७० प्रतिशत भाग पानीले बनेको छ । शरीरका सबै प्रणाली पानीमै निर्भर हुन्छ । पानीले हाम्रो शरीरको महत्वपूर्ण अंगबाट विषाक्त पदार्थ बाहिर निकाल्ने गर्छ । कोषहरूमा पोषणसमेत पु¥याउँछ । यसले कान, नाक र घाँटीका तन्तुलाई ओसिलो बनाइराख्न मद्दत पनि गर्छ । एक दिनमा कुनै पनि स्वस्थ वयस्क पुरूषको लागि करिब तीन लिटर र महिलाका लागि करिब सवा दुई लिटर पानी पर्याप्त हुन्छ । तर, व्यक्तिविशेषलाई दिनहुँ कति पानी आवश्यक हुन्छ भन्ने कुरा सम्बन्धित व्यक्तिको स्वास्थ्य, सक्रियता, बसोबासलगायत थुप्रै कारकमा निर्भर गर्छ ।

रङहीन, स्वादहीन र सफा पानीलाई गुणस्तरीय मान्न सकिन्छ । यस्तै सूक्ष्मजीवाणुहरू हानिकारक माइक्रो अर्गानिजम नभएको पानी प्रयोग गर्न उपयुक्त मानिन्छ ।पानी प्रयोग गर्नुभन्दा पहिला २७ वटा गुणस्तर मापदण्डमा पूरा गर्नुपर्ने अन्तराष्ट्रिय मान्यता छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार प्रदूषित पानीले झाडापखाला, हैजा, आउँ, रगतमासी, टाइफाइड, हेपाटाइटिस, पोलियोलगायतका रोग हुन सक्छ । प्रदूषित खानेपानीले गर्दा उत्पन्न झाडापखालाले बर्सेनि ५ लाख २ हजार जनाको मृत्यु हुने गरेको आँकलन छ ।पानी शुद्घ बनाउनको लागि पहिलो सर्त हो– यो सङ्लो हुनु । फोहोरमैला मिसिएर पानि धमिलो भएको हुन्छ । यसैले सबैभन्दा पहिले पानीको धमिलोपन हटाउनुपर्छ । पानी धमिलो हुनु भनेको त्यसमा जीवाणुहरू हुनु हो । सामान्यतः पानीको धमिलोपन हटाउँदा मात्रै पनि ९० प्रतिशतसम्म जीवाणु आफंै हट्छन् । यसपछि थप शुद्घीकरण गरेर पानीलाई अझ स्वच्छ बनाउन सकिन्छ । शुद्घीकरणको सुरूको अवस्था नै पानीको धमिलोपन हटाउनु हो । शुद्ध पानीको व्यवस्थापनका लागि घरमा शौचालय र इनार बीचको दुरी कम्तीमा पनि १० मिटर पर हुनुपर्नेछ ।दिगो विकास लक्ष्यमा सन् २०३० भित्र सबै नेपालीमा सुरक्षित खानेपानी र प्रर्याप्त सरसफाइ पुर्याउने नेपालले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । पहिलेको लक्ष्य समयमा नै हासिल गर्न नसके पनि सङ्घीय, प्रदेश र स्थानीय सबै तहका सरकारको सक्रियताले खानेपानी र सरसफाइ सबैको पहुँचमा पुर्याउन सकिने सरकारको आशा छ । सङ्घीय, प्रदेश र स्थानीय सबै तहका सरकारको ध्यान पानीको पहुँच बढाउनु तिर मात्र केन्द्रित नभएर तराईको पानीमा व्याप्त अधिक मन्द बिषको व्यवस्थापन र विकल्प खोज्न तीर पनि हुनुपर्छ । आर्सेनिको यो समस्यालाई कुनै पनि सर्तमा नजरअन्दाज गर्नु देशकै लागि घातक हुनेछ । (मधेश दर्पण फिचर सेवा)

फेसबुकबाट तपाईको प्रतिक्रिया