अमेरिकी राष्ट्रपति उमेदवार स्यान्डर्सको प्रचारमा जुटेका नेपाली

प्रकाशित मिति:

एजेन्सी – सुस्मिक लामा २००७ मा नेपालबाट फिलाडेल्फिया पुगेकी थिइन् । त्यतिबेला उनी फर्नेस हाइ स्कुलकी एकमात्र नेपाली छात्र थिइन् । तर उनले छिट्टै त्यो विदेशी भूमिलाई आफ्नो घर बनाइन् जसबेला उनको परिवार बस्न खान, उनलाई पढाउन र अनपेक्षित स्वास्थ्य खर्च जुटाउन संघर्ष गरिरहेको थियो । अहिले भने उनले तिनै कठिन परिस्थितिहरुले आफूलाई राजनीतिक आकृति दिनमा मद्दत पुर्याएको बताएकी छन् । २८ वर्षकी लामा हाल, २०२० का अमेरिकी राष्ट्रपति उमेदवार बर्नी स्यान्डर्सलाई चुनाव प्रचारमा सघाउन न्यु हेम्सफायरमा बसाइ सरेकी छन् ।

यसमा उनको काम त्यहाँका आप्रवासी र शरणार्थी समुदायहरुसँग सम्पर्कमा आउनु रहेको छ । न्यु हेम्सफायरमा विशेषगरी नेपालबाट गएका भुटानी शरणार्थीहरु ठूलो सङ्ख्यामा बसोबास गरिरहेका छन् । बुवाले पनि त्यहीँ जागिर पाएपछि उनको पूरै परिवारले स्थानान्तरण गरेका हुन् जहाँ उनीहरु स्यान्डर्सका लागि स्वयंसेवकको काम गर्छन् । लामा भन्छिन्, “पढ्नका लागि यहाँ आएका मेरा थुप्रै साथीहरु छन् र घरेलु कामदारका रुपमा आएकाहरुलाई पनि मैले चिनेको छु । त्यसैले मलाई भिसाको अवस्थामा मानिसहरुले कति संघर्ष गर्नुपर्छ भन्ने राम्ररी थाहा छ । यस्तोमा स्यान्डर्सको प्रत्येक व्यक्तिलाई समावेश गर्ने किसिमको योजनामा मैले नीति मात्र नभएर सबै समुदायको अनुहार पनि देखेकी छु ।”

स्यान्डर्स विशेष रुपमा आप्रवासी र शरणार्थीहरुको पक्षमा मात्र उपस्थित नभएता पनि न्यु हेम्सफायरलगायत सबै स्टेटमा स्यान्डर्सले उनीहरुबाट बलियो समर्थन पाइरहेका छन् ।

जस्तै स्यान्डर्सको समर्थनमा देशव्यापी रुपमा ‘भुटनिज फर बर्नि स्यान्डर्स’, ‘नेपाल फर स्यान्डर्स’ लगायतका थुप्रै फेसबुक ग्रुपहरु रहेका छन् जुन अन्य कुनै डेमोक्रेटिक उमेदवारका लागि भने देखिँदैन ।

यसअघि स्यान्डर्सले सिरियाली शरणार्थी संकट सम्हाल्ने अमेरिकी शैलीको खुलेर आलोचना गरेका थिए भने आप्रवासन सम्बन्धी पनि तार्किक रुपमा सबैभन्दा उदार दृष्टिकोण प्रस्तुत गर्दै आएका छन् ।

त्यसैगरी उनले आफ्नो बुवा कसरी मध्य युरोपबाट पलायन भइ परिवारलाई पाल्न पेन्ट बेच्नेसम्मको काम गरेको भन्नेबारेमा पनि पटकपटक कुरा निकाल्ने गरेका छन् ।

उनको चुनाव प्रचार अभियानको म्यान्चेस्टरस्थित अफिसमा आधारित लामाले पनि स्यान्डर्सको नीतिमा आप्रवासी र शरणार्थीहरुलाई समावेश गरिनुले नै ती समुदायलाई उनीतर्फ आकर्षित गराएको बताउँछिन् जो यसअघि राजनीतिक रुपमा संलग्न भएका थिएनन् ।

लामाले भने राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावपछि मात्र राजनीतिमा रुची राख्न थालेकी हुन् जसमा बायोकेमिस्टका रुपमा मेडिसिन क्षेत्रमा काम गर्दैगर्दा उनले स्वास्थ्य प्रणालीको पहुँचमा ठूलो समस्या देखेकी थिइन् । यसरी लामाले चुनाव प्रचार अभियानमा सहभागी भएदेखि उनका अभिभावकले पनि संलग्नता जनाउन सुरु गरेका छन् । उनका पिता अमेरिकी नागरिक भएदेखि नै डेमोक्रेटिक पार्टीलाई भोट दिँदै आएका थिए तर यसअघि कहिल्यै कुनै उमेदवारका लागि स्वयंसेवकको काम नगरेको उनी बताउँछिन् । त्यस्तै चुनाव प्रचार कार्यालयमा उनकी आमाको स्पेसल मःमः पनि अहिले सबैको मनपर्ने खानेकुरा बनेको छ ।

पिता कल्याण लामा भन्छन्, “उनले गरिबहरुलाई माथि उठाउने प्रयास गरिरहेका छन् जुन मेरा लागि धेरै महत्वपूर्ण छ । जस्तै उनीहरुको स्वास्थ्य बिमा, न्युनतम पारिश्रमिक लगायतका कुराबारे ख्याल गर्ने नीतिहरु । अङ्ग्रेजी मेरो मातृभाषा होइन त्यसैले मलाई थाहा छैन कसरी भन्ने तर उनले हरेकचोटी बोल्दा मलाई ह्दयदेखि नै बलियो महसुस हुने गरेको छ ।” अमेरिकामा २ लाख भन्दा धेरै नेपालीहरु बसोबास गर्दछन् जसमा सबैभन्दा ठूलो जनसङ्ख्या टेक्ससमा त्यसपछि न्युयोर्क अनि क्यालिफोर्नियामा रहेको छ ।

त्यस्तै १९९० को दशकमा भूटानले एकलाख भन्दा बढी मानिसहरुलाई देश निकाला गर्दा पनि नेपालस्थित संयुक्त राष्ट्र क्याम्पमार्फत ९६ हजार भूटानी शरणार्थी अमेरिका पुगेका हुन् । त्यसबीच केही न्यु हेमिस्फायर र अर्को ठूलो जनसङ्ख्या ओहिओ र पेनिसिलभेनियामा बसिरहेका छन् । नेपाल र भूटानको राजनीति र परम्परा धेरै फरक भए पनि दुवैको सिमानामा भारत छ र भाषा पनि एउटै छ भने कतिपय चाडपर्व र संस्कृति पनि मेल खान्छन् ।

अमेरिकाले २०१८ मा पनि भुटानी शरणार्थीहरु ल्याएको थियो जसमा झन्डै नौ हजार नेपालबाट रहेका थिए । सुरज बुढाथोकी पनि अमेरिकामा बस्ने भुटानी शरणार्थी हुन् जो अहिले स्यान्डर्सको चुनाव प्रचार अभियानमा काम गरिरहेका छन् । उनी नौ वर्षको उमेरमा शरणार्थी भएका थिए र १९ वर्षसम्म आफ्नो परिवारका साथमा नेपालमा बसेका हुन् । उनका अनुसार अमेरिका आएपछि उनले रोजगारको धेरै अवसर पाउने, गरिबी नहुने, कोही घरविहीन नहुने र भेदभावमुक्त वातावरण अपेक्षा गरेका थिए । तर उनको पहिलो जागिरमा प्रति घण्टा सात डलर मात्र कमाइ हुन्थ्यो जसपछि उनले अर्को जागिर खोज्नु परेको हो । उनी भन्छन्, “यहाँको वास्तविकता मैले सोचेको भन्दा धेरै फरक रहेछ ।”

अन्ततः उनी अङ्ग्रेजी कक्षामा भर्ना भए र साउदर्न न्यु हेम्सफायर युनिभर्सिटीबाट डिग्री हासिल गरे । यसपछि उनले भुटानी शरणार्थीहरुका लागि एउटा संस्था स्थापना गरेका हुन् । उनका अनुसार भाषा र पर्याप्त ज्ञानको कमीका कारण शरणार्थी र आप्रवासीहरुको राजनीतिक सहभागीतामा ठूलो अवरोध पुग्ने गरेको छ । सबैभन्दा पछिल्लो रियल क्लियर पोलिटिक्स पोलिङका अनुसार पनि न्यु हेम्सफायरमा स्यान्डर्स ४ प्रतिशतले अगाडि छन् ।