गच्छदारको पक्षमा नेविसंघको राँके जुलुस, प्रधानमन्त्रीको पुतला जलाइयो

प्रकाशित मिति:

कैलाली – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा ९ करोड ६५ लाखको भ्रष्टाचार मुद्दा खेपेका कांग्रेस उपसभापति विजय गच्छदारको पक्षमा नेविसंघले राँके जुलुस निकालेको छ।

नेविसंघका पूर्व उपाध्यक्ष पुष्पकुमार शाहीको नेतृत्वमा कैलालीमा राँके जुलुस निकालिएको हो। नेविसंघले बालुवाटारको जग्गा प्रकरणमा मुख्य निर्णयकर्ता मानिएका पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा नेकपा महासचिव विष्णु पौडेललाई जोगाएर गच्छदारलाई मात्रै मुद्दा चलाएको आरोप लगाएको छ। नेविसंघका नेता शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार कांग्रेस नेताविरुद्ध पूर्वाग्राहीरुपमा लागेको आरोप लगाउँदै उनको पुतला जलाइएको बताए।

उनका अनुसार यो निर्णय नसच्चिएसम्म विरोधका कार्यक्रम जारी रहनेछन्। उनीहरुले अख्तियारलाई शाही आयोग जस्तै भएको पनि जिकिर गरे। कांग्रेसले आफ्ना नेताविरुद्ध नियतवश मुद्दा चलाइएको भन्दै बिहीबार संसद पनि अवरुद्ध गरिसकेको छ।