गुलाफको फूलको माग घट्यो

प्रकाशित मिति:

काठमाडौं – फेब्रुअरी १४ मा मनाइने प्रणय दिवसका लागि यस वर्ष रातो गुलाफको आयात विगत वर्षहरुको तुलनामा कम हुने भएको छ । बजार माग कम भएकाले गुलाफको आयात कम गर्न लागिएको हो । गत वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख मूल्य बराबरको गुलाफ आयात गरिएकामा यो वर्ष भने एक करोड मूल्यको मात्रै आयात गर्न लागिएको हो ।

बजारको माग कम रहेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा कम परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ । प्रणय दिवसमा खपत हुने एक लाख ५० हजार स्टिम गुलाफमध्ये एक लाख २० हजार बाहिरी देशबाट ल्याइने र ३० हजार स्वदेशमै उत्पादन हुने जनाइएको छ । एसोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफको यस वर्ष मूल्य बढ्ने छैन । नेपालमा वार्षिक रु २० करोडको गुलाफ फूलको कारोवार हुने गरेको छ ।

प्रणय दिवसकै लागि भने रु दुई करोडको कारोवार हुने गर्दछ । आन्तरिक उत्पादन ३० प्रतिशत र बाह्य देशबाट आयात गरिने ७० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने गरेको छ । प्रयोगकर्ताको कमी भएकाले विगतको वर्ष जस्तै यस वर्ष पनि प्रतिगुलाफ रु ७० देखि १०० सम्म उपभोक्ताले खरिद गर्न सक्ने जनाइएको छ ।।