कांग्रेसले संसदमा भन्यो– निर्दोषलाई पक्रिएर सारा दोषीलाई उन्मुक्ति दिन खोजियो, नेविसंघ सडकमा

२४ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै दोस्रो दिन पनि संसद अवरुद्ध गरेको छ । शुक्रबार संसदको विशेष समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले अख्तियार सरकारको छायाँ बनेको आरोप लगाए । आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको उनको दाबी छ ।

हजार दोषी छुटुन् तर एउटा निर्दोष नपरुन् भन्ने न्यायको सिद्धान्त भए पनि ललिता निवास प्रकरणमा उल्टो भएको उनले बताए । सांसद मीनले भने, ‘यहाँ एउटा निर्दोषलाई पक्रिएर सारा कसुरदारलाई उन्मुक्ति दिने पद्दतीको थालनी भयो, त्यसमा कांग्रेसको गम्भीर आपत्ति छ ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलतर्फ समेत गर्दै उनले जग्गा फिर्ता गर्छु भनेका कारण केहीलाई उन्मुक्ति दिइएको बताए । चोरी गरेको मान्छेले चोरी गरेको सामान फिर्ता गर्छु भन्यो भने के गर्ने भन्ने प्रश्न गरे ।

उनले अघि भने, ‘यो सरकारको छायाँ बन्यो कि भनेर हिँजोसम्म शंका मात्र लागेको थियो । हिजो सरकारका प्रवक्ताले अख्तियारको कामकारबाही पनि सरकारको उपलब्धी हो भन्नु भएछ । सरकारको नियोजित कार्यक्रमभित्र कांग्रेसका मान्छेहरुलाई थुन्ने, कांग्रेसका मान्छेहरुलाई दोष लगाउने जुन प्रपञ्च रचियो, त्यसमा राजनीतिक प्रतिशोध छ कि छैन ?’

अख्तियार सरकारको छायाँ बनेको र आफ्नालाई बोक्ने तथा विरोधीलाई ठोक्ने नीति लिएको कांग्रेसको आरोप छ । सांसद विश्वकर्माले बोलेलगत्तै कांग्रेस सांसदहरु आ(आफ्नो स्थानमा उभिएर संसदमा अवरोध गरेका छन् । कांग्रेसको अवरोधपछि संसद बैठक आधा घन्टाका लागि स्थगित भएको छ । नेपाली कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो ।

नेविसंघले सडक ततायो आफ्नो पार्टीका उपसभापति बिजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा नेपाली कांग्रेसले सदनसँगै सडकमा पनि विरोध प्रदर्शन गरेको छ । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाईमा शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन भएको छ । माइतीघरमा भेला भएका कांग्रेस कार्यकर्ताहरुले सरकार विरोधी नाराबाजी गरेका छन् । उनीहरुले सत्तारुढ दलका नेताहरुलाई चोख्याएर कांग्रेसका नेतालाई छानीछानी मुद्दा चलाउने अख्तियारको निर्णय राजनीतिक प्रतिशोधपूर्ण भएको बताएका छन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेपछि आक्रोशित कांग्रेसले लगातार दोस्रो दिन संसद बैठक अवरुद्ध पारेको छ । गच्छदारलाई मुद्दा लगाइनु राजनीतिक प्रतिशोध भएकाले संसद र सडकबाट प्रतिवाद गर्ने कांग्रेसले निर्णय गरेको थियो । बिहान बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसका नेतालाई छानीछानी मुद्दा लगाउने अख्तियारको कदम प्रतिशोधपूर्ण भएको बताएका थिए ।

बैठकमा भ्रष्टाचार मुद्दा लागेका उपसभापति विजयकुमार गच्छदार पनि बोलेका थिए । उनले अख्तियारलाई ओली आयोग बनाइएको बताएका थिए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ओली आयोगका रुपमा रुपान्तरण भएको छ । ओलीको इच्छा र निर्देशन अनुसार अख्तियारले काम गरिरहेको छ । त्यसको शिकार अहिले म भएँ भोलि अरु पनि पर्न सक्छन्’ बैठकमा गच्छदारले भनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया