निरंकुशता विरुद्ध कांग्रेस डटेर लाग्छ ः खांण

प्रकाशित मिति:

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले अहिलेको सरकारले चिनिया शैलीको कम्युनिष्ट शासन नेपालमा ल्याउन खोजेको बताएका छन् । निरंकुशता लाद्न खोज्ने कम्युनिष्ट शासन देशबाट पतन भएर जाने उनले बताए । नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै खांणले लोकतान्त्रिक मुल्यमान्यतासंगै प्रेस स्वतन्त्रता र मानवअधिकार सिद्धयाउन लागिपर्ने जोकोही आफै सिद्धिने बताए । निरंकुश ढंगले जनताका अधिकार बन्चित गराउन सरकार अघि बढेकाले यसको प्रतिवाद गर्न कांग्रेस लागिपर्ने बताए । उनले भने जनताले निरंकुशता हटाउन र प्रजातन्त्र ल्याउन नखोजेको भए देशबाट राणाशासन र निर्दलीय पन्चायती व्यवस्था नै जाने थिएन । उनले निरंकुश पद्धती देशमा आउन नसक्ने बताए । लोकतानित्रक मुल्यमान्यता रक्षाका लागि कांग्रेस लागिपर्ने उनले बताए । खांणले यसका विरुद्ध नेपाली कांग्रेसले हदैसम्म प्रतिवाद गर्ने बताए ।
सचेतक खांणले नेपाल धान फल्ने हिलो खेतमा आलु रोपेसरह भएको बताए । अहिलेको सरकार आउनुमा कांग्रेस पार्टीको पनि केही कमजोरी भएको भन्दै उनले अप्राकृतिक सरकारको शासन रहेकाले जनता को परिक्षण असफल भएको जनाए ।
फरक प्रसंगमा नेता खांणले देशका उद्योगी व्यवसायी उत्साहित भएर लगानी गर्नुपर्ने, राष्ट्रिय अर्थतन्त्र उकालो लाग्नुपर्ने अवस्थामा सम्झौता गरेर व्यवसाय संचालन गरेका व्यवसायीलाई हटाएर सरकारले असहिष्णुता देखाएको बताए । सर्वोच्चको आदेश जारी भइसक्दासमेत पत्र हातमा आउनुअघि नै लुम्बिनी प्रादेशिक अस्पतालका सटर भतकाएर सरकारले कठोरता देखाएको भन्दै जति कठोर र आक्रामक भएर सरकार हिंड्छ, त्यती नै असफल हुने दाबी गरे । राज्यले व्यवसायीको लगानीको संवद्र्धन गर्न नसकेको उनले बताए ।