गिट्टी कुटेर पढाइ खर्च धान्न विवश छन् बालबालिका

प्रकाशित मिति:

जाजरकोट – भेरी नगरपालिका–२ बाहुनथानाकी २१ वर्षीया लक्ष्मी खड्का एक महिनाको दुधे बच्चा च्यापेर गिट्टी कुटिरहनुभएको छ । उहाँ सुत्केरी भएको दुई हप्ताभित्रै गिट्टी कुट्ने काममा लागिरहनुभएको छ । तीन छोरा, छोरीकी आमा भइसकेकी उहाँ गिट्टी कुट्ने ठाउँका कहिले शिशुलाई च्यापेर, त कहिले चिसो भुइँमा राखेर काम गरिहरनुभएको छ । उहाँका श्रीमान् प्रेम खड्का पनि सडकका पर्खाल लगाउने काम गर्नुहुन्छ ।

जाजरकोट–जुम्ला सडकखण्डअन्तर्गत खलङ्गा पाँचकाटिया सडकको ग्राभेलको काम अहिले जारी छ । “पढ्दापढ्दै छाडियो, अहिले गिट्टी कुटेर छोराछोरीसहित घरपरिवार चलाउनुपर्छ के गर्नु” लक्ष्मीले भन्नुभयो । उहाँजस्तै अर्की ४० वर्षीया भीमकुमारी खड्का चार छोराछोरीको पढाइका लागि गिट्टी कुटिरहनुभएको छ । “कुनै राजगारी छैन, यही गिट्टी कुटेर सबै परिवार पाल्नुपर्छ”, उहाँले भन्नुभयो, “छोरीहरु स्थानीय विद्यालयमा कक्षा ५ र ६ मा पढ्छन्, पढाइ खर्चका लागि भए पनि गिट्टीको सहारा लिएको छु, यसमै काम गने ठेकेदारले समयमा पैसा दिँदैनन् ।”

सोही सडक खण्डमा शङ्कर भवन मावि बाहुनथानामा कक्षा २ मा अध्ययनत् चन्द्रा घर्तीले बिहान–बेलुका गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । बिहान ७ बजे सडकछेउमा हथौडा र ढुङ्गाको भारी खातमा हाजिर हुने उनी साढे ९ बजे विद्यालय पुग्छिन् । उनी अपराह्न ३ बजेपछि पुनः गिट्टी कुट्न आउने गर्दछिन् । उनीसँगै कक्षा १ मा पढ्ने रुपेश पुन र कक्षा २ मा पढ्ने अस्मित पुन खर्चकै लागि गिट्टी कुट्दै आएका छन् । उनीहरुले दैनिक गिट्टी कुटेर बिक्री गरी पढाई खर्च जुटाउँदै आएका छन् । रासस