प्रेमीको हत्या प्रकरणमा दाजु पक्राउ

प्रकाशित मिति:

गौर – प्रेमप्रसङ्गको बिषयलाई लिएर रौतहटको ईशनाथ नगरपालिका ८ मन्सरीका २० वर्षिय मोहम्मद एहतेशामुल हक(केशाम)को हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा आइतबार प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि मृतक केशामको हत्याको आरोपमा प्रेमिकाको भाईद्धय राजपुर नपा ६ कुरिया टोलका २६ वर्षिय असगर अली तथा २३ वर्षिय हैदर अलीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जुद्ध उच्च माध्यमिक विद्यालय गौरस्थित आइएड प्रथम वर्षमा अध्ययनरत मृतक केशाम माघ १५गते आफनो घरबाट ईशनाथ नपा ५ मोतीपुर स्थित भिनाजुको घरमा गई गफगाफ गरी राति भिनाजुको मोटरसाइकल लिएर आफनो घर जान्छु भनी हिडेका घर नपुगी वेपता भएपछि भोलीपल्ट माघ १६ गते राजपुर नपा ६ कुरिया गाउँदेखि सात सय मिटर पूर्वतर्फ भकुवा खोलामा मृत अवस्थामा प्रहरीले फेला पारेका थिए ।

घटनाको बारेमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक नविन कार्कीको नेतृत्वमा गठित पाँच सदस्यीय अनुशन्धान टोलीले प्रेमप्रसङ्गको विषयलाई लिएर मृतक केशामको प्रेमिकाको तीन जना दाजुभाई मिलेर हत्या गरेको खुल्न आएको जसमध्ये दुईजना पक्राउ गरिएको तथा एक फरार रहेको प्रहरीले जनाएको छ ।

मृतक केशाम भिनाजुको घरबाट हिडे पश्चात राजपुर नपा ६ कुरिया गाउँमा रहेकी आफनी प्रेमिका युवतीलाई भेट्न भकुवा नदी किनारमा पुगी ति युवतीलाई आउन टेलिफोन गरेपछि युवतीले टाढा आउन डर लाग्ने बताएर युवतीको घर छेउको बाँसघारीसम्म आउने सहमति भई राति ११ बजेसम्म भेटघाट गफ गरी बसेको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो ।

युवतीका दाजुले बहिनी घरमा नदेखेपछि खोजतलाशको लागि ३जना दाजुभाई खोज्दै जाँदा बाँसघारीमा फेला पारेको ,युवतीले दाजुहरुलाई देख्नासाथ केशामलाई भाग्ने ईशारा गर्दै आफू पनि घरतिर भागेकी र युवतीका दाजुहरुले मृतक केशामलाई लखेटदै समातेर भकुवा नदी किनारमा लगी घाँटी थिचेर बगाउने अभिप्रायले नदीको पानीमा फाली दिएको प्रहरी अनुसंधानबाट खुलेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

घटनाको अनुसन्धानको क्रममा तीन जना अभियुक्त मध्ये दुइ जनालाई प्रहरीले पक्राउ गरेको र अर्का ३१ वर्षिय असरफ अली फरार रहेको निजको खोजतलाश भैइरहेको जानकारी दिदैँ प्रहरी उपरीक्षक खडकाले पक्राउ परेका अभियुक्तहरुले प्रहरी समक्ष कर्तव्य गरी मारेको स्वीकार गरेका समेत बताउनुभयो ।

मृतकका बाबु ईशनाथ नपा ८बस्ने ५० वर्षिय शेख मोरइसुल आजमले जिल्ला प्रहरी कार्यालयमा किटानी सहितको मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत हदैसम्मको कार्यवाहीको माँग गर्दै जाहेरी दिएको तथा हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुवै जनालाईृ रौतहट जिल्ला अदालतमा पेश गरी म्याद थप गरिएको प्रहरी उपरीक्षक खडकाले बताउनुभयो । सञ्जय कुमार मिश्रले गोरखापत्रमा लेखेका छन ।