पार्टी भित्र वैचारिक विवाद कायमै छः नेता पौडेल

प्रकाशित मिति:

भरतपुर –  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस भित्र वैचारिक बिबाद कायमै रहेको बताउनु भएको छ । भरतपुर विमान स्थलमा आइतबार पत्रकारसँग कुराकानी गर्दै काँग्रेस भित्रको वैचारिक विवाद अन्त नभएको धारणा राख्नुभयो । “पार्टी भित्र वैचारिक विवाद कायम छ । पार्टीलाई कुन मूल्य मान्यताको बाटोमा लैजाने, कुन दर्शनले सञ्चालन गर्ने भन्ने कुरा नै अहिले काँग्रेस भित्रको विवाद हो”, उहाँले भन्नुभयो । उहाँले राजनितिलाई कमाउ खाने भाडो बनाउन नहुने तर्क पनि गर्नुभयो । “राजनितिलाई सम्मानित क्षेत्र बनाउँ । राजनितिलाइ सम्मानित क्षेत्र बनाउन सुशासनदेखि निश्पिक्षता, पारदर्शीता र विकृति विहिन समाज बनाउन जरुरी छ”, उहाँ अगाडी थप्नुहुन्छ, “अहिले देशलाई भ्रष्टचार मुक्त वनाउनु छ । विकृति मुक्त काँग्रेस भयो भने मात्रै देश भ्रष्टचार मुक्त हुन सक्छ ।”

उहाँले पार्टी भित्रका विकृति र विसङ्गति हटाउदै जानुपर्ने धारणा पनि राख्नुभयो । काँग्रेस नेता पौडेलले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना पनि गर्नुभयो । “कम्यूनिष्ट पार्टी नेतृत्वमा रहेको राज्य सत्ता पक्षपातीबाटो तिर गइरहेको छ । राज्यका नागरिक सबै बराबर हो । कानूनका दृष्टिले सबै समान हुन् । समानताको सिद्धान्तको विपरित राज्य जान लाग्यो भन्ने अहिलेको चिन्ता हो” उहाँ भन्नुहुन्छ, “समानताको सबै भन्दा वढी दुवाइ दिने राजनैतिक नेतृत्व भएको वेला समानताका विरुद्ध जान लाग्नु चिन्ताको विषय हो ।”

उहाँले प्रदेश सरकारले गरेको नितिगत निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार नहुने गरि आउन लागेको विधेयकको पनि विरोध गर्नुभयो । “सरकार सञ्चालनमा बसेकाहरुलाई उन्मुक्ति दिने कुरा गलत मनसायबाट आयो । सरकार भएपछि जे पनि गर्न पाइन्छ । नितिगत निर्णयका आधारमा ठूला ठूला घोटलाहरु पनि गर्न पाइन्छ भन्ने कुराबाट अगाडी गयो भने नेपालको राजनिति अरु बरवादी तर्फ धकेलिने छ”, उहाँले भन्नुभयो ।