पामिर एकेडेमीको १२ औं वार्षिकोत्सव सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा – पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ रुपन्देहीले आइतबार आफ्नो १२ औं बार्षिकोत्सव मनाएको छ । कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मुलुकको बदलिंदो परिवेशसँगै शिक्षा नीतिमा पनि आमुल परिवर्तन गर्नु पर्ने खाँचो औंल्याए । तिलोत्तमा नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएर बजेट र नीति कार्यक्रम तर्जुमा गरेको उल्लेख गर्दै गुणस्तरीय र प्राविधिक शिक्षालाई जोड दिएर विद्यार्थीहरुलाई व्यावहारिक र सीपयुक्त बनाउनुपर्ने बताए । उनले बालबालिकाको स्वास्थ्यको लागि नगरपालिकाले विद्यालयमा जंकफूड निषेध गरेको, खुला शुन्य पोलिथिन अभियान चलाएको र यसका लागि विद्यालयलाई पनि एकसाथ अगाडि बढाएको भन्दै शैक्षिक वातावरण निर्माणले गुणस्तरीय शिक्षामा बल पुग्ने बताए ।

तिलोत्तमा नगरपालिका शिक्षा तथा खेलकूद विभाग प्रमुख गंगाराम आचार्यले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको सर्वागिंण विकास गर्ने भन्दै यसतर्फ ध्यान दिन विद्यालयलाई आग्रग गरे । पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले शिक्षाको विकासबिना कुनै पनि क्षेत्रको विकास असम्भव भएकाले स्थानीय तहले शैक्षिक गुणस्तर वृद्धि सँगसँगै लगानी बढाउनुपर्ने बताए ।
प्याब्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्यायले शैक्षिक गुणस्तरमा निजी विद्यालयको ठूलो योगदान हुँदा पनि राज्यले विभेदकारी नीति लिएको भन्दै सामुदायिक र निजी विद्यालयमा विभेद गर्न नहुने बताए ।

अभिभावक संघ नेपालका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयले शैक्षिक स्तर सुधारमा टेवा पुग्ने भएकाले यसका लागि तीनै पक्ष जवाफदेही र जिम्मेवार हुनुपर्ने बताए ।  विद्यालयका अध्यक्ष मोहन चापागाईंले विद्यार्थी केन्द्रित सिकाई विधिबाट पठनपाठनलाई जोड दिंदै आएको, प्रविधितर्फ विद्यार्थीलाई केन्द्रित गरेको, अतिरिक्त क्रियाकलापमा जोड दिएको र गुणस्तर सुधारमा विद्यालयले उल्लेख्य प्रगति हासिल गरेको बताए ।

कार्यक्रममा अभिभावक मुकुन्द ज्ञवाली, विद्यालयका सहायक प्राचार्यद्वय गोपाल गौतम र रविराज काफ्लेलगायतले शैक्षिक सुधारको विषयमा आ–आफ्नो धारणा राखेका थिए । त्यस अवसरमा विद्यालयमा नयाँ नियुक्त प्राचार्य माधव अर्याललाई स्वागत तथा राजीनामा दिएका तोलाकान्त डुम्रेलाई बिदाइ गरिएको थियो । कार्यक्रममा नर्सरी देखि कक्षा ३ सम्म २०७५ सालको वार्षिक नतीजाको पुरस्कार तथा कक्षा ४ देखि ९ सम्म अनुशासन र सरसफाईमा उत्कृष्ट तथा खेल सप्ताहका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा विद्यार्थीहरूले खाजा महोत्सवको समेत आयोजना गर्नुका साथै विभिन्न संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरेका थिए ।